एलायन्स क्लब इन्टरनेशनलका प्रेसिडेन्ट सक्सेनासहितको टोली पोखरामा, ४० वटा क्लब गठन गर्ने

Share:

पोखरा । एसोसियसन अफ एलायन्स क्लब इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट राजकुमार सक्सेनासहितको उच्चस्तरीय टोली पोखरा आइपुगेको छ। शुक्रबार पोखरामा आयोजना हुने एलायन्स क्लब डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ तथा पदस्थापन कार्यक्रममा सहभागी हुन उनीहरू बुधबार साँझ पोखरा आएका हुन्।

टोलीमा एलायन्स क्लबका फाउण्डर प्रेसिडेन्ट तिरुपति बुढाराजु, भाइस प्रेसिडेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलका डिष्ट्रिक गभर्नर उषरानी अटलुरीलगायत रहेका छन्। क्लवका प्रचार संयोजक पोषराज पौडेलका अनुसार टोली बुधबार साँझ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

टोलीलाई विमानस्थलमा प्रस्तावित डिष्ट्रिक १०५५ नेपालका डिष्ट्रिक गभर्नर थिरबहादुर थापा, भाइस डिष्ट्रिक गभर्नर डा. लक्ष्मण तिमिल्सीना, सिस्टर क्लवका चार्टर प्रेसिडेन्ट कल्पना थापा र तारा पोखरेल, पोखरा सिटी चार्टर प्रेसिडेन्ट कुन्दनराज शर्मा, घनश्याम ढुंगाना, शंकर खत्री, हरिबहादुर थापा, तोयानाथ अधिकारीलगायतले स्वागत गरेका थिए।

पोखराको पर्यटनप्रति प्रशंसा

अन्तर्राष्ट्रिय प्रेसिडेन्ट सक्सेनासहितको टोलीले बिहीबार पोखराका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूको भ्रमण गरेको छ। भ्रमणका क्रममा सक्सेनाले पोखरालाई पर्यटनको अद्भुत शहर भन्दै एकै स्थानमा प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधता अवलोकन गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन्।

उनको यो भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास एलायन्स क्लबले लिएको छ। भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको एलायन्स क्लब इन्टरनेशनलको पोखरामा डिष्ट्रिक १०५५ नेपालको औपचारिक शुभारम्भ तथा पदस्थापन कार्यक्रम शुक्रबार पस्र्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा हुने डिष्ट्रिक गभर्नर थिरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र पोखराबाहिरका सदस्यहरू पनि कार्यक्रममा सहभागी हुन पोखरा आइसकेका छन्। यो नेपालको पहिलो पूर्ण डिष्ट्रिक हुने जानकारी दिँदै थापाले काठमाडौं, तनहुँ, कास्की लगायत विभिन्न क्षेत्रबाट एलायन्स सदस्यहरूको सहभागिता रहने बताए। पोखरामा पहिलो पटक गठन भएको यो डिष्ट्रिकलाई डिष्ट्रिक १०५ साउथ मल्टिपलले स्पोन्सर गरेको हो।

मानवीय तथा सामाजिक सेवामा क्रियाशील एलायन्स क्लबले डिष्ट्रिक १०५५ नेपालमार्फत पोखरामा करिब ४० वटा क्लब गठन गर्ने लक्ष्य राखेको पोखरा सिटी चार्टर प्रेसिडेन्ट कुन्दनराज शर्माले जानकारी दिए। एलायन्स क्लबले भारतका विभिन्न स्थानमा जेष्ठ नागरिक सेवा केन्द्र, क्यान्सर केयर अस्पताल, बालबालिका हेरचाह केन्द्रलगायतका सामाजिक सेवा सञ्चालन गर्दै आएको छ। एलायन्स क्लब इन्टरनेशनलको यो विस्तारसँगै पोखरामा सामाजिक सेवा, मानव कल्याण र अन्तर्राष्ट्रिय सहकार्यका गतिविधिहरू थप सशक्त हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: