पीएम कप कास्की क्लबस्तरीय क्रिकेट: सांग्रिलाको लगातार दोस्रो जित, लेकसाइड १३४ रनले पराजित

Share:

पोखरा। प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले शानदार प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको छ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबार सम्पन्न खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो। १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको लेकसाइडको ब्याटिङ लाइनअप अत्यन्त कमजोर देखिँदा टोली १७ ओभरमा मात्र ५२ रनमै अलआउट हुन पुग्यो।

लेकसाइडका लागि केशव सुनार (१० रन) र सुमित रौनियार (६ रन) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। सांग्रिलाका बलरहरू अगाडि लेकसाइड पूर्ण रूपमा निरीह देखियो।

सांग्रिलाको जितमा भुवन रेग्मी नायक बने। उनले ७ ओभरमा २ मेडनसहित २८ रन खर्चँदै ५ विकेट लिँदै लेकसाइडको ब्याटिङ ध्वस्त पारे। सञ्जय नेपालले २ तथा जिवन कोइरालाले १ विकेट लिए।

यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सांग्रिला २८.१ ओभरमा १८६ रनमा अलआउट भएको थियो। सांग्रिलाका लागि सिब्रिन श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै ७६ रनको महत्वपूर्ण योगदान दिए। कुशल नेपालले ३१ रन र राजु खनालले २३ रन जोडे।

लेकसाइडका बलरमध्ये चन्दन राउतले शानदार प्रदर्शन गर्दै १० ओभरमा २ मेडनसहित ६६ रन खर्चँदै ७ विकेट लिएका थिए। सन्देश शाहीले २ तथा विकास पाठकले १ विकेट लिए।

अलराउन्ड उत्कृष्ट प्रदर्शनका लागि सांग्रिलाका सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यो हारसँगै लेकसाइडको प्रतियोगितामा लगातार दोस्रो पराजय भएको छ। यसअघि लेकसाइडले अरण्यज्योति क्रिकेट क्लबसँग १६ रनको हार बेहोरेको थियो। उता सांग्रिलाले पहिलो खेलमा एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको थियो।

हाल सांग्रिलाको ४ अंकसहित शीर्ष स्थानमा मजबुत पकड रहेको छ भने लेकसाइड अंकविहीन अवस्थामा रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: