पोखरा-१५ बृहत खेलकुद महोत्सव: विद्यालयस्तरीय ५ किमि दौडमा विजय विक र समृद्धि मार्सल विजयी

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. १५ को आयोजनामा जारी बृहत खेलकुद महोत्सव अन्तर्गत शुक्रबार विद्यालय स्तरीय छात्र तथा छात्रा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ।

छात्र तर्फको ५ किमि दौडमा सेन्ट फ्रान्सिस स्कूलका विजय बिकले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन्। बिकले निर्धारित दुरी ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै पहिलो स्थान हात पारे।

उक्त दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे भने केल्स एकेडेमीका आनन्द कुँवरले ८ मिनेट ५५ सेकेण्ड १७ मिलिसेकेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान सुरक्षित गरे। त्यसैगरी रेम्बो एकेडेमीका रोनाल थापाले शान्तवना स्थान हासिल गरे।

छात्रा तर्फको ५ किमि दौडमा सेन्ट मेरिज स्कूलकी समृद्धि मार्सलले आफ्नो दबदबा कायम राख्दै उपाधि जितेकी छन्। मार्सलले निर्धारित दुरी ११ मिनेट ११ सेकेण्ड ९३ मिलिसेकेण्डमा पूरा गर्दै उपाधि रक्षा गरेकी हुन्।

यस प्रतियोगितामा सेन्ट मेरिजकै प्राप्ति श्रेष्ठले १२ मिनेट १७ सेकेण्ड ३७ मिलिसेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान हात पारिन्। थ्री एन्जल्सकी ओमेगा शाहीले १२ मिनेट २४ सेकेण्ड ९९ मिलिसेकेण्डमा तेस्रो स्थान प्राप्त गरिन् भने सेन्ट मेरिजकै दीब्याले शान्तवना स्थान हासिल गरिन्।

महोत्सवको अन्तिम दिन शनिबार महानगरस्तरीय साइकल दौड, ह्वीलचियर दौड, ह्वीलचियर बास्केटबल प्रतियोगिता, आमा समूह तथा टोल विकास संस्था स्तरिय महिला भलिबलको फाइनल खेल, साथै पुरुष तर्फ टोल विकास संस्था तथा क्लबबीचको फाइनल फुटबल प्रतियोगिता र समापन समारोह आयोजना हुने कार्यक्रम रहेको छ।

महोत्सव आयोजक पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुदमार्फत समुदायमा एकता, समावेशिता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: