
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान र पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि सुरु भएको एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकासलाई राष्ट्र विकासको बलियो आधारका रूपमा उल्लेख गरे।
उनले भने, “खेलकुदको विकासमार्फत राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिन्छ। नेपाल आज खेलकुदकै माध्यमबाट पनि विश्वमा चिनिँदै आएको छ। सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरूलाई समेत खेलको माध्यमबाट पराजित गर्न सकेका छौँ।”
प्रदेश प्रमुख भट्टका अनुसार वर्तमान सन्दर्भमा खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभई कूटनीति, अर्थतन्त्र, सहकार्य र राष्ट्रिय एकताको महत्वपूर्ण स्तम्भका रूपमा स्थापित भइसकेको छ।
खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मसम्मान अभिवृद्धि, प्रोत्साहन, पुरस्कार तथा वृत्तिविकासमा राज्यको भूमिका अझ प्रभावकारी र जिम्मेवार बनाउनेतर्फ सरकार प्रयत्नशील रहेको उनले स्पष्ट पारे।
भलिबल नेपालको भौगोलिक अवस्था, सीमित स्रोत, सानो स्थानमा खेल्न सकिने, कम बजेट र सबैको पहुँचमा रहने खेल भएकै कारण राष्ट्रिय खेलको रूपमा स्थापित भएको उल्लेख गर्दै उहाँले सीमित पूर्वाधारका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला भलिबल टोलीले हासिल गरेको उपलब्धि अत्यन्तै प्रशंसनीय रहेको बताए।
“एशियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीहरूले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएका छन्,” उनले स्मरण गरे।
भलिबलका भौतिक संरचना र पूर्वाधार अझै कमजोर भए पनि यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीहरूको खेल कौशल प्रदर्शन, अनुभव अभिवृद्धि र आर्थिक उपार्जनमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनको भनाइ थियो।
प्रदेश प्रमुख भट्टले पछिल्ला ६ वर्षदेखि निरन्तर भव्य र व्यवस्थित रूपमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्दै आएको टाइगर ग्रुप अफ पोखराले भलिबलमार्फत पोखरा, गण्डकी प्रदेश मात्र नभई समग्र नेपाललाई चिनाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।




