
पोखरा । एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण खुला क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता बिहीबार पोखरामा उद्घाटन गरिएको छ। टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले एक विशेष समारोहबीच गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्रको अर्थतन्त्र, पहिचान र गौरव अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए।
सरकारले खेल क्षेत्रमा लगानी बढाउन निरन्तर प्रयत्न गरिरहेको उल्लेख गर्दै उहाँले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिनुको कारण यसको पहुँच, लोकप्रियता र नेपालको भौगोलिक अनुकूलता रहेको स्पष्ट पारे।
“सानो ठाउँ, कम बजेट र सबैको पहुँचमा रहने खेल भएकाले भलिबल नेपालको सबैभन्दा लोकप्रिय खेल बनेको छ,” उनले भने। कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलीले पोखरा जस्तो पर्यटकीय सहरमा आएर भलिबल प्रतियोगिताको उद्घाटन गर्न पाउँदा गर्व र खुशी लागेको बताए।
उनले नेपाली युवाहरूले सकारात्मक परिवर्तनका लागि खेलमार्फत खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली समाज संस्कृतिमात्र होइन, मानवीय मूल्यमा पनि धनी रहेको उल्लेख गरे। नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गर्दै आएको प्रतियोगिताले नेपाली भलिबलको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए।
संघले आफ्नै कभर्डहल निर्माण तथा सातै प्रदेशमा खेल मैदान निर्माणका लागि पहल गरिरहेको जानकारी पनि दिए। टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न समारोहमा उनले कठिन परिस्थितिका बाबजुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको उल्लेख गरे।
“छैटौं संस्करणसम्म आइपुग्दा टाइगर कप एउटा बलियो ब्रान्ड बनेको छ। यसलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दछु,” उनले भने।
खेल परिणाममा पुरुषतर्फ
उद्घाटन खेलमा एपीएफ क्लबले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गर्यो। एपीएफका उपेन्द्र परियार प्लेयर अफ द म्याच घोषित भए। अर्को खेलमा नेपाल आर्मी क्लबले पाहुना टोली माल्दिभ्स भलिबल क्लबलाई २५–१५, २५–२२ र २५–१० को सोझो सेटमा हरायो। आर्मीका सुनिल बोहोरा प्लेयर अफ द म्याच बने।
महिलातर्फ
महिलातर्फ टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पार्यो। न्यू डायमण्डले २५–१३, २५–१६ र २५–८ ले खेल आफ्नो पक्षमा पार्यो। न्यू डायमण्डकी सालिना बुढा मगर प्लेयर अफ द म्याच घोषित भइन्।
तीन जना सम्मानित
उद्घाटन समारोहमा भलिबल खेलको विकासमा योगदान पुर्याएको भन्दै तीन जनालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा वरिष्ठ भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबल संघका पूर्व सदस्य राजकुमार अधिकारी प्रशिक्षक कुमार राई, राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर सम्मानित व्यक्तिहरूलाई प्रदेश प्रमुख भट्ट, टाइगर ग्रुपका अध्यक्ष शर्मा तथा प्रतियोगिता संयोजकले दोसल्ला र सम्मानपत्र प्रदान गरे।
शनिबार चार खेल हुने
आयोजकका अनुसार प्रतियोगिताको दोस्रो दिन शनिबार ४ खेल हुनेछन्। महिलातर्फ नेपाल पुलिस, नेपाल आर्मी तथा एपीएफ तथा थाइल्याण्ड क्विन्स खेल हुनेछ। पुरुषतर्फ गण्डकी प्रदेश, माल्दिभ्स तथा नेपाल पुलिस तथा पर्वत जिल्ला भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ। नेपाल भलिबल संघको स्वीकृतिमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ ६ टिम तथा महिलातर्फ ५ टिम गरी कुल ११ टिम सहभागी छन्।
महिला तथा पुरुष दुवै तर्फका विजेताले
प्रथमले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, दास्रोले ३ लाख ६६ हजार ६ सय ६६ रुपैया तथा २ लमख ६ हजार ६ सय ६६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ रुपैयाँ नगद प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई ११ हजार ६ सय ६६ रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ।
