
पोखरा । पोखरा महानगरपालिकामा फोहोर मैला व्यवस्थापनका चुनौती र समाधानबारे सर्वपक्षीय बैठक सम्पन्न भएको छ। नगर प्रमुख धनराज आचार्यको आह्वानमा लामो समयदेखि फोहर नउठ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि सबै पक्षको सहयोग र सहजीकरण जुटाउने उद्देश्यले महानगरले उक्त बैठक राखेको हो । सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि पोखराको फोहर बाच्छेबुडुवा स्थित ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको थियो।
तर विमानस्थलको धावनमार्ग नजिकै रहेको उक्त स्थानमा चराचुरुङ्गीका कारण उडान सुरक्षामा जोखिम बढेपछि ल्यान्डफिल साइट बन्द गर्नुपरेको थियो। त्यसयता पोखराको फोहर व्यवस्थापन महानगरका लागि ‘निल्नु न ओकल्नु’ को समस्या बनेको छ।
बाच्छेबुडुवाको विकल्पका रूपमा पोखरा-३२ स्थित लामे आहालमा अस्थायी रूपमा फोहर फालिँदै आएको थियो। तर उक्त स्थान पनि अहिले पूर्ण रूपमा भरिएको छ। यता पोखरा–३३ मा प्रस्ताव गरिएको फोहर प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) स्थापनाको विषयमा स्थानीय बासिन्दाले कडा विरोध जनाउँदै आएका छन्। स्थानीयको अवरोध र वैकल्पिक स्थानको अभावका कारण विगत १४ दिनदेखि पोखराको फोहर सडक र चोकचोकमा थुप्रिएको अवस्था छ।
शनिबार सम्पन्न बैठकमा नगर प्रमुख धनराज आचार्यले पर्यटकीय सहरको गरिमा जोगाउन र नागरिकको स्वास्थ्य संरक्षण गर्न फोहर व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको बताए।
“पोखराको फोहर केवल महानगरको मात्र समस्या होइन, यो साझा चुनौती हो। यसको तत्काल समाधानका लागि अस्थायी व्यवस्थापन र दीर्घकालीन समाधानका लागि प्रशोधन केन्द्र स्थापनामा सबै पक्षको साथ अपरिहार्य छ,” उनले भने।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सहरको सौन्दर्यीकरण र वातावरणीय स्वच्छतासँग जोडिएको संवेदनशील विषयमा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनीहरूले स्थानीयका जायज मागलाई सम्बोधन गर्दै अवरोध हटाउन र फोहर विसर्जनलाई सुचारु बनाउन महानगरलाई सघाउने धारणा राखे। प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूले पनि आवश्यक सुरक्षा र प्रशासनिक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
पछिल्लो दुई सातादेखि फोहर नउठ्दा महेन्द्रपुल, चिप्लेढुङ्गा, नयाँबजार र पृथ्वीचोक लगायत पोखराका प्रमुख व्यापारिक क्षेत्र तथा गल्लीहरूमा फोहरको थुप्रो जमेको छ। कुहिने फोहर सडकमै सड्न थालेपछि पैदलयात्री र व्यवसायीहरू दुर्गन्धका कारण सास्ती खेप्न बाध्य भएका छन्।
पर्यटकीय सिजनको मुखमा सहर कुरूप र दुर्गन्धित बन्दै गएपछि पर्यटन व्यवसायीहरूले समेत गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आज सम्पन्न सर्वपक्षीय बैठकले फोहर व्यवस्थापनमा देखिएको गतिरोध अन्त्य गर्दै छिट्टै विसर्जन प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ। महानगरले स्थानीयको अवरोध हटाउने प्रयाससँगै नयाँ स्थानमा आधुनिक फोहर प्रशोधन केन्द्र निर्माण प्रक्रियालाई प्राथमिकतामा राख्ने संकेत दिएको छ।
सर्वपक्षीय छलफलबाट पोखराको फोहोर व्यवस्थापनलाई दीगो र व्यवस्थित बनाउने दिशामा ठोस पहल हुने अपेक्षा गरिएको छ।
