
पोखरा। पोखरा रंगशालामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले सशक्त सुरुआत गरेको छ। शनिबार भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
खेलको पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै आर्मीले राम्रो सुरुआत गरे पनि त्यसपछि पुलिसले खेलमा जबरजस्त पुनरागमन गर्यो। दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले जित्दै पुलिसले खेल आफ्नो नियन्त्रणमा राख्न सफल भयो। यस जितसँगै पुलिसले महत्वपूर्ण अंक जोड्दा आर्मीले प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्नुपर्यो।
पुलिसकी एलिसा मानन्धरले उत्कृष्ट प्रदर्शन गर्दै खेलभर प्रभाव जमाइन्। निर्णायक क्षणहरूमा आक्रामक खेल प्रस्तुत गरेकी उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन भइरहेको च्याम्पियनसिप माघ १७ गतेसम्म चल्नेछ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको छ। सिंगल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा प्रवेश गर्नेछन्।
शनिबारकै अन्य खेलहरूमा महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र थाइल्यान्ड क्विन्सबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएसनबीच पहिलो जितको खोजीमा भिडन्त हुनेछ। यसैगरी पुरुषतर्फकै अर्को खेलमा नेपाल पुलिस क्लब र पर्वत भलिबल संघ आमनेसामने हुने तालिका रहेको छ।
