
काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताए ।
कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका-४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका-४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।
त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टरार्ईले जानकारी दिए ।
गण्डकीमा यस्तो छ निर्वाचन:
गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन कार्यालयकै पांग्रणमा मतदानका लागि दुई वटा केन्द्र स्थापना गरिएको छ । जसमध्ये एउटा केन्द्रमा ५९ जना प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन् भने अर्को केन्द्रमा १६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय सभाका रिक्त १९ पदका लागि देशभर निर्वाचन हुन लागेको हो । २०७६ सालमा निर्वाचित सदस्यहरूको ६ वर्षे कार्यकाल आगामी फागुनमा सकिन लागेपछि नयाँ सदस्य छनोटका लागि यो प्रक्रिया सुरु गरिएको हो । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी भगवती न्यौपानेको पदावधि सकिँदै छ । उनीहरूको स्थानमा नयाँ राष्ट्रिय सभा सदस्यका लागी निर्वाचन निर्वाचन हुन लागेको हो ।
यस पटकको निर्वाचनमा राजनीतिक समीकरण फेरिएको छ । वर्तमान समयमा सुशिला कार्कीको नेतृत्वमा जेनजी युवा पुस्ताको सरकार भएपनि त्यसअधिकाि सत्ता साझोदार दल र प्रतिपक्ष दलबिच प्रतिस्पर्धा हुन लागेको हो । अर्थात् गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार उठाएका छन् ।
एमालेबाट महिला क्लस्टरमा सम्झना देवकोटाको उम्मेदवारी परेको छ । उनी गोरखाकी स्थापित नेतृ हुन् । २०४० को दशकदेखि विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा होमिएकी उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म पुगिन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी देवकोटा यसअघि गोरखा नगरपालिकाको उपमेयर र मेयरमा समेत प्रतिस्पर्धा गरिसकेकी अनुभवी पात्र हुन् ।
खुला सिटका लागि नेपाली कांग्रेसले प्राध्यापक डा. जगत् तिमिल्सिनालाईअघि सारेको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका तिमिल्सिना प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष हुन् । तनहुँ घर भएका उनी पार्टी कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । जिल्ला र प्रदेश कार्यसमितिको सिफारिसमा नपरे पनि केन्द्रले उनलाई बौद्धिक र पेशागत प्रतिनिधित्वको रूपमा चुनावी मैदानमा उतारेको हो ।
यसरी कांग्रेस र नेपालको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिला कोलष्टर नेकपाकी गोमा लुइँटेल घिमिरे र खुलाबाट कपिल लामाले चुनावी प्रतिस्पर्धामा छन् । गोमा घिमिरे सशस्त्र द्वन्द्वकालकी घाइते योद्धा हुन्, जसले बेनी आक्रमणमा एउटा खुट्टा गुमाएकी थिइन् । अर्का उम्मेदवार कपिल लामा पार्टीका पुराना र वैचारिक नेता हुन् ।
यस्तै, राष्ट्रिय जनमोर्चाले पनि खुलामा शंकरप्रसाद बराल र महिलामा अधिवक्ता लक्ष्मी बाँस्कोटालाई मैदानमा उतारेको छ । उनीहरूले आफ्नो पार्टीको मत जोगाउन र नीतिगत मुद्दा उठाउन प्रतिस्पर्धामा उत्रेका छन् । यसअघि पुस २३ मा मनोनयन दर्ता र २८ गते निर्वाचन चिह्न प्रदान गरिसकिएको छ ।
३ बजे मतदान सकिएलगत्तै गणना सुरु गरिने र साँझसम्म परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उप-प्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
