
पोखरा । फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ९ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। कमिटीको संयोजकमा प्रेम गुरुङ र सहसंयोजकमा सरस्वती श्रेष्ठ चयन भएका छन्।
आइतबार सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मी आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। साथै निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का सहसंयोजक बलराम आचार्य, पोखरा महानगरपालिका कमिटी अध्यक्ष जीवन आचार्य, कास्की जिल्ला कमिटी सदस्य एवं पोखरा-९ का इन्चार्ज कमल श्रेष्ठलगायत नेताहरूको उपस्थिति थियो।
कार्यक्रममा प्रेम गुरुङको संयोजकत्वमा ३३५ सदस्यीय वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो। कार्यक्रममा वक्ताहरूले निर्वाचनलाई सफल बनाउन संगठनलाई एकताबद्ध र सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए।
नेकपा एमाले पोखरा–९ विस्तारित बैठक कमिटी अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण परियारले गरेका थिए।
