
पोखरा । १४औँ पोखरा महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। पुस २९ देखि माघ ११ गतेसम्म सञ्चालित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरेका हुन्। समापन समारोहमा मेयर आचार्यले पोखरा महोत्सवलाई पोखराकै उत्कृष्ट र पृथक महोत्सवको रूपमा वर्णन गर्दै महानगरपालिकाले यसलाई ‘रातो किताब’मै समेटेर निरन्तर अगाडि बढाइरहेको बताए।
साथै, महोत्सवकै माध्यमबाट पोखरा-२७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबासका लागि महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। युनाईटेड क्लबले सामाजिक क्षेत्रमा गरेको योगदानको उनले खुलेर प्रशंसा गरे।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवमार्फत पोखरामा खुला चिडियाखाना, शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको सामाजिक पहल सराहनीय रहेको बताए। महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकहरूलाई सहभागी गराइएकोमा उनले आयोजकलाई धन्यवाद दिए।
महोत्सवका मुख्य प्रायोजक रबि एण्ड शन्नी इण्डष्ट्रिज प्रालिको उत्पादन बेटरका निर्देशक विनोद रौनियारले विगत छ वर्षदेखि पोखरा महोत्सवसँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताए। आगामी दिनमा पनि युनाईटेड क्लबका सामाजिक कार्यमा सहकार्य निरन्तर रहने उनको भनाइ थियो।
पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्कीले युनाईटेड क्लबले निर्माण गरेको छात्राबासको अपनत्व महानगरले लिनुपर्ने बताए भने वडा नं. १५ का अध्यक्ष तोरण बानियाँले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
समाज कल्याण परिषद्का उपाध्यक्ष परमेश्वर कार्की र अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोख्रेलले पनि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे।
युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा खुला चिडियाखाना निर्माणको पहल निरन्तर रहेको र १४औँ महोत्सवदेखि पोखरा-२७ अर्चलेमा निर्माणाधीन युनाईटेड छात्राबासमा केन्द्रित हुने बताए। उनले छात्राबाससम्म पुग्ने सडक निर्माणका लागि समेत महानगरसँग पहलको आग्रह गरे।
क्लबका अध्यक्ष लोकबहादुर थापाले महोत्सवलाई सफल बनाउन दर्शकको भूमिका निर्णायक रहेको बताए। महोत्सवबाट संकलित रकम सामाजिक कार्यमै खर्च गरिने भएकाले दर्शकहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सामाजिक अभियानमा सहभागी भएको उनले उल्लेख गरे।
कार्यक्रम महासचिव दिनेश सुनारको सञ्चालनमा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। यसैबीच, महोत्सवअन्तर्गत आयोजित टिकटक प्रतियोगिताको उपाधि गोले लामाले हात पारे।
आशिष इन्स्टिच्युटको प्रायोजनमा सम्पन्न प्रतियोगिताबाट प्राप्त २५ हजार रुपैयाँ पुरस्कार रकम लामाले क्यान्सरपीडित कास्की भुर्जुबखोलाकी दिलमाया नेपालीलाई सहयोगस्वरूप प्रदान गरे।
महोत्सवका मुख्य प्रायोजक बेटर होम एप्लायन्सको स्टलमार्फत भाग्यशाली उपभोक्ताहरूले एसी, वाटर डिस्पेन्सर, गिजर, चिम्नी र भ्याकुम क्लिनरलगायत आकर्षक उपहार प्राप्त गरेका थिए। साथै, युनाईटेड क्लबले जिल्ला खेलकुद विकास समिति कास्कीलाई नगद १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
१३ दिनसम्म सञ्चालित महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकको सहभागिता रह्यो भने ९ करोड रुपैयाँभन्दा बढी कारोबार भएको आयोजकले जनाएको छ। स्थानीय उत्पादन, हस्तकला र कृषिजन्य सामग्रीलाई प्राथमिकता दिइएकाले दर्शकको आकर्षण बढेको महोत्सवका प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।



