पिएम कप कास्की: ४ ओभरमै सकियो ५० ओभरको खेल, लेकसाइडको १० विकेटको ऐतिहासिक जित

Share:

पोखरा । प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार विरलै देखिने दृश्य देखिएको छ। ५० ओभरको खेल केवल ४ ओभरमै सकिँदै लेकसाइड क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको छ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा एभरेष्टले दिएको २१ रनको अति सामान्य लक्ष्य लेकसाइडले ४ ओभरमै २४ रन बनाउँदै सहजै पूरा गर्‍यो। यो जारी प्रतियोगिताकै सबैभन्दा छिटो सम्पन्न खेल बनेको छ।

यसअघि टस जितेर ब्याटिङ गरेको एभरेष्ट क्रिकेट क्लब १२.३ ओभरमै २१ रनमा अलआउट भयो। एभरेष्टका लागि समिर आलमले ४ र सचिन यादवले ३ रन जोड्न सके। लेकसाइडका बलर निरज ढकालले ५ विकेट लिँदा चन्दन राउतले ४ विकेट लिए।

आइतबारै भएको अर्को खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई २४ रनले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। १६२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लब ३२.५ ओभरमै १३७ रनमा अलआउट हुन पुग्यो।

पोखराका लागि मुस्कान थापाले ८६ बल खेल्दै ७६ रनको उत्कृष्ट इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन। सुवाष भण्डारीले १६ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको माछापुच्छ्रे क्रिकेट क्लब ३७.१ ओभरमा १६१ रनमा अलआउट भयो। अनिश जिसीले ४१ बलमा ४१ रन बनाए भने दीपक माझीले २० बलमा २७ र कविन सापकोटाले ५३ बलमा २५ रन जोडे।

पोखराका बलर सुवाष भण्डारी र देव शाहले समान ३–३ विकेट लिए भने सागर भुजेलले २ विकेट लिए। माछापुच्छ्रेका लागि कविन सापकोटाले ४ विकेट, अनिश जिसीले ३ तथा रितेश बरालले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच अनिश जिसी घोषित भए।

माघ २ गतेदेखि सुरु भएको प्रतियोगिता पोखरा र लेखनाथमा जारी छ। प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ। समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब छन् भने समूह ‘बी’ मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब सहभागी छन्।

कमेन्ट गर्नुहोस्
Share: