
पोखरा । नवलपरासी सुस्ता पश्चिमको क्षेत्र नं. १ मा ‘हेभीवेट’ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेसँगै चुनावी सरगर्मी तीव्र बनेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउने र स्थानीय समस्या सुन्ने कार्यमा व्यस्त देखिएका छन्।
यस क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट रुख चुनाव चिन्ह लिएर अघिल्ला प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यवसायी विनोद चौधरी चुनावी मैदानमा छन्। उनका मुख्य प्रतिस्पर्धी जनता समाजवादी पार्टीका पूर्वमन्त्री हृदयश त्रिपाठी हुन्, जो छाता चुनाव चिन्ह लिएर पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यी दुई पुराना प्रतिद्वन्द्वीबीचको प्रतिस्पर्धालाई यसपटक पनि चुनावको मुख्य केन्द्रका रूपमा हेरिएको छ।
चौधरी–त्रिपाठी बाहेक नेकपा एमालेबाट सूर्य चुनाव चिन्हसहित पूर्व सुस्ता गाउँपालिका अध्यक्ष तथा विद्यालय सञ्चालक रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट तारा चिन्ह लिएर सिन्धु जलेसा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्हसहित पूर्व कांग्रेस नेता तथा व्यवसायी बिक्रम खनाल, र राष्ट्रिय जनमोर्चाबाट गिलास चिन्ह लिएर निर्माण व्यवसायी ढुण्डिराज पोखरेल प्रतिस्पर्धामा छन्।
यसरी नवलपरासी–१ मा ६ राजनीतिक दलबीच त्रिपक्षीयभन्दा पनि बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ। विगतमा गठबन्धनका साथ चुनाव लडेका दलहरू यसपटक भने एक्लाएक्लै मैदानमा उत्रिएपछि चुनावी नतिजा अझै रोचक हुने अनुमान गरिएको छ।
अघिल्लो निर्वाचनमा विनोद चौधरीले हृदयश त्रिपाठीलाई ७ हजार १९१ मतको अन्तरले पराजित गरेका थिए। चौधरीले २९ हजार ५१९ मत पाउँदा त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए। त्यतिबेला चौधरीलाई नेकपा माओवादी केन्द्र र त्रिपाठीलाई नेकपा एमालेको समर्थन रहेको थियो।
यसपटक चौधरीले विगतमा गरेका कामको सूची प्रस्तुत गर्दै अधुरा विकास योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। त्रिपाठीले भने आफ्नो लामो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डा बनाएका छन्।
त्यसैगरी रास्वपाका उम्मेदवार बिक्रम खनालले युवा पुस्ता र असन्तुष्ट मतदातालाई लक्षित गर्दै नयाँ राजनीतिक नेतृत्वको आवश्यकता औंल्याउँदै घरदैलो गरिरहेका छन्। एमालेका रामप्रसाद पाण्डेले पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुग्ने अभियान थालेका छन्।
जनमोर्चाका उम्मेदवार ढुण्डिराज पोखरेलले भ्रष्टाचारविरुद्धको संघर्ष, प्रदेश संरचनाको पुनरावलोकन र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।
घरदैलोका क्रममा मतदाताहरूले भने किसानका लागि मल र बीउको अभाव, डुबान समस्या, सुकुम्बासी समस्या समाधान र युवा स्वरोजगार जस्ता पुरानै मुद्दा दोहोर्याउँदै उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन्। यी मुद्दाले नै नवलपरासी-१ को चुनावी बहसलाई दिशा दिने देखिएको छ।
