पोखरामा साइबर अपराधको ग्राफ उकालो: २१३ साइबर उजुरी, १९ करोडभन्दा बढी ठगी दाबी

Share:

पोखरा। पोखरामा साइबर अपराध र अनलाइन ठगीका घटना तीव्र गतिमा बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्षको हालसम्म साइबर अपराधका २१३ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये १२० जना पीडित महिला रहेको तथ्यांकले देखाएको छ।

यसैगरी, अनलाइन माध्यमबाट भएका विभिन्न किसिमका ठगीका ६०७ वटा उजुरी परेका छन्। ती उजुरीमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ, जसले साइबर अपराधको भयावह अवस्था उजागर गरेको छ।

प्रहरीका अनुसार यस्ता अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिन्छ। ऐनअनुसार कसूर प्रमाणित भएमा ३ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ। ओटीपी मागेर रकम ठगी गर्ने घटनामा भने ठगी मुद्दाअन्तर्गत कारबाही अगाडि बढाइँदै आएको छ।

तर, सामाजिक सञ्जालमार्फत हुने अपराधको अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको छ। नेपालमा हाल टिकटक मात्र दर्तामा रहेको र फेसबुक, टेलिग्राम, एक्स, डिस्कर्ड तथा विभिन्न गेमिङ एप्स दर्तामा नरहेकाले त्यस्ता प्लेटफर्मबाट हुने ठगी, यौन उत्पीडन, बालबालिकालाई कुलतमा फसाउने गतिविधि बढ्दो देखिएको छ।

नक्कली फेसबुक र एक्स आइडी प्रयोग गरी चिठ्ठा परेको, अनलाइन सपिङ, विदेशबाट आएको पार्सल भन्सारमा रोकिएको जस्ता बहाना बनाएर ठगी गर्ने गिरोहको चंगुलमा पढेलेखेका र प्रतिष्ठित व्यक्तिहरूसमेत परिरहेका छन्।

सोमबार पोखरामा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले ठगीमा फसिनुको मुख्य कारण लोभ भएको स्पष्ट पारे। “भन्न त नमिल्ला, तर नपढेकाभन्दा पढेका मान्छे बढी फसिएका छन्,” उनले भने, “नाफाको लोभले गर्दा छिमेकीसँगसमेत सल्लाह नगर्ने प्रवृत्तिले ठूलो क्षति भइरहेको छ।”

उनका अनुसार यसरी ठगीमा पर्नेमा क्याम्पसका प्राध्यापक, कर्मचारीदेखि व्यापारीसम्म रहेका छन्।एसपी कार्कीले गोप्य फोटो-भिडियो सार्वजनिक गरिदिने धम्की दिएर पटक-पटक रकम असुल्ने प्रवृत्ति पनि बढ्दो भए पनि त्यस्ता घटना प्रहरीसम्म कम आउने बताए।

“अन्तिममा ठूलो रकम दिनुपर्ने भएपछि मात्रै उजुरी आउँछ,” उनले भने, “देशका ‘मै हुँ’ भन्ने मान्छेहरू पनि यसमा फसेका छन्।” उनले नेपालमा करिब ३ करोड जनसंख्या हुँदा मोबाइल सिम प्रयोगकर्ता ३ करोड ११ लाखभन्दा बढी रहेको उल्लेख गर्दै अधिकांश साइबर ठगी मोबाइलबाटै भइरहेको बताए।

अनलाइन धम्की, साइबर बुलिङ, चरित्र हत्या, अपहरण, मानव बेचबिखन र गलत सूचना फैलाउने प्रवृत्ति नियन्त्रण गर्न प्रहरीलाई चुनौती बढेको एसपी कार्कीको भनाइ छ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगी नियन्त्रणका लागि प्रहरी-समुदायबीच सहकार्य र निरन्तर सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिए। पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नफस्न र व्यक्तिगत विवरण सुरक्षित राख्न आग्रह गरे।

कार्यक्रम संयोजक निश्चल खरेलले अहिलेको समयमा प्रहरीले सडकमा गस्ती गर्नेभन्दा कम्प्युटरमार्फत नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था आएको बताए। पोखरा जेसिजका महासचिव सञ्जय पौडेलले साइबर अपराधका घटना लुकाउन नहुने र तत्काल प्रहरीमा जानकारी दिनुपर्नेमा जोड दिए।

यसैबीच, पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका २९ जना कर्मचारीहरूका लागि साइबर क्राइम तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गरिएको छ।

भायनेटको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीले सहजीकरण गरेको तालिममा वरिष्ठ सई होतबहादुर रोकाहाले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डाटा सुरक्षा र कानुनी पक्षबारे प्रशिक्षण दिए। मानसिक स्वास्थ्यसम्बन्धी सेसनमा भने भायनेटका प्रदेश प्रमुख डिकेन्द्र थापा मुख्य वक्ता थिए।

कमेन्ट गर्नुहोस्
Share: