
पोखरा । नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर १ ले औपचारिक रूपमा आफ्नो चुनावी प्रचार अभियान सुरु गरेको छ। सोमबार पोखरा महानगरपालिका वडा नं. २६ कालिकाचोकमा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेसले आगामी निर्वाचनका लागि रणनीति र योजना सार्वजनिक गरेको हो।
कांग्रेस कास्की-१ बाट उम्मेदवार तिलकबहादुर रानाभाटले उपसमितिहरू गठन गरी घरदैलो अभियानसहित विभिन्न स्थानमा चुनावी गतिविधि तीव्र पारिएको जानकारी दिए। पार्टी संगठनलाई चलायमान बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिअनुसार प्रचार अभियान अघि बढाइएको उनले बताए।
चुनावी घोषणा कार्यक्रममा बोल्दै कांग्रेस कास्की-१ का सभापति राजेन्द्रमणि लामिछानेले सबै नेता-कार्यकर्ता एकजुट भई कास्की-१ मा तिलकबहादुर रानाभाटलाई विजयी गराउन सक्रिय हुनुपर्नेमा जोड दिए। उनले लोकतन्त्र सुदृढ गर्न कांग्रेसको जित आवश्यक रहेको बताउँदै मतदातालाई कांग्रेसलाई समर्थन गर्न आग्रह गरे।
कार्यक्रम पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कास्की-१ का कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सयौंको संख्यामा उत्साहजनक उपस्थिति रहेको थियो, जसले चुनावी माहोल तातिँदै गएको संकेत दिएको छ। कार्यक्रमको सञ्चालन पार्टी सचिवद्वय ओमप्रकाश गुरुङ र सरोज केसीले गरेका थिए।
