
पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायी महिलाका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ। नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन सत्रमा पहिलो दिन डा. आरती रेग्मीले व्यक्तित्व विकास, शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी विषयमा सहजीकरण गरे। उनले व्यवसायिक सफलताका लागि आत्मविश्वास, मानसिक सन्तुलन र स्वस्थ जीवनशैलीको महत्त्वबारे प्रस्तुति राखे ।
तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवर्द्धन र ब्रान्डिङ विषयमा समिर बराल तथा डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले प्रशिक्षण दिनेछन्।
अन्तिम दिन बुधबार साइबर अपराध तथा अनलाइन ठगीबाट जोगिने उपाय विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।
तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले प्रत्यक्ष रूपमा व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याउनुपर्ने बताए।
उनले पर्यटन व्यवसायी महिलाको सशक्तीकरणका लागि आवश्यकताअनुसार अन्य शीर्षकमा समेत बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डीएसपी नवराज भट्टराईले साइबर अपराध बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यस्ता अपराधबाट जोगिन तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट प्राप्त ज्ञानलाई व्यावसायिक जीवनमा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे।
टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रूपमा स्वस्थ हुँदा मात्र व्यवसायमा दीगो सफलता हासिल गर्न सकिने बताउँदै यस्ता तालिम फलदायी हुने उल्लेख गरिन्।
टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै भनिन्, “क्षमता अभिवृद्धिमा पर्यटन बोर्डले सहयोग गरेको छ, अब पर्यटन प्रवर्द्धनमा पनि व्यवसायी महिलाका लागि बजेट छुट्याउन आवश्यक छ।”
संस्थाकी महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा तालिम संयोजक मीना बरालले तालिमको उद्देश्यबारे स्पष्ट पारे।
