एमाले कास्की-२ का उम्मेदवार रश्मि आचार्यद्वारा मतदातासँग सुझाव संकलन सुरु

Share:

पोखरा । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रश्मि आचार्यले मतदातासँग प्रत्यक्ष सुझाव संकलन अभियान सुरु गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार आचार्यले कास्की-२ निवासी मतदातालाई वर्तमान सन्दर्भमा उठान गर्नुपर्ने जनसवाल, निर्माणाधीन प्रतिबद्धता पत्रमा समावेश गर्नुपर्ने मुद्दा, स्थानीय विकास र देशको समृद्धिसँग जोडिएका विषयमा खुला बहस, विमर्श र अन्तर्क्रियामा सहभागी हुन आग्रह गरेका छन्।

आचार्यले प्रत्यक्ष भेटघाट, वैकल्पिक संवादका माध्यम तथा डिजिटल प्लेटफर्ममार्फत पनि सुझाव दिन सकिने स्पष्ट पार्दै नागरिकको आवाजलाई आफ्नो चुनावी घोषणापत्रको आधार बनाउने बताएका छन्।

यसैक्रममा उनले कास्की क्षेत्र नम्बर २ अन्तर्गतका ११ वटै वडामा पुगेर भेटघाट तथा छलफल गर्ने योजनाअनुसार सोमबार बिहान पोखरा महानगरपालिका वडा नं. ४ बाट पहिलो चरणको चुनावी भेटघाट तथा छलफल कार्यक्रम सुरु गरेको जानकारी दिए।

“हामी वर्तमान अवस्थामा जनताले उठाउन चाहेका सवालहरू, प्रतिबद्धता पत्रमा समेटिनुपर्ने विषयहरू तथा स्थानीय विकाससँग जोडिएका मुद्दामा खुला संवाद गर्न चाहन्छौँ,” आचार्यले उल्लेख गरेका छन्, “यसका लागि मतदाताले प्रत्यक्ष भेटेर, फोन, इमेल, ह्वाट्सएप वा फेसबुक मेसेन्जरमार्फत आफ्ना धारणा, अभिमत र सुझाव दिन सक्नुहुनेछ।”

उम्मेदवार आचार्यले सुझाव संकलनका लागि 📧 इमेल: rashmi.pkr037@gmail.com📱 ह्वाट्सएप: ९८५११३२९११ 📞 सम्पर्क नम्बर: ९८५६०६९००० तथा फेसबुक मेसेन्जर प्रयोग गर्न सकिने जानकारी दिएका छन्। मतदाताको सहभागिता र सुझावलाई केन्द्रमा राख्दै अघि बढाइएको यो अभियानले कास्की-२ मा चुनावी चहलपहल थप बढाएको छ।

कमेन्ट गर्नुहोस्
Share: