२६औँ आदर्श कप फुटबल : मंगलबारदेखि सेमिफाइनलका खेल, म्याग्दी एपीएफलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश

Share:

पोखरा। कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको २६औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारदेखि सेमिफाइनलका खेलहरू सुरु हुने भएका छन्।

सोमबार सम्पन्न क्वार्टरफाइनलको अन्तिम खेलमा जिल्ला खेलकुद विकास समिति म्याग्दी सेमिफाइनलमा प्रवेश गरेको छ। म्याग्दीले सशस्त्र प्रहरी बल (एपीएफ) पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

म्याग्दीका जर्सी नम्बर ९ का खेलाडी सनम विकले खेलको ८२औँ मिनेटमा गरेको निर्णायक गोल नै म्याग्दीको जितको आधार बन्यो। उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भएका विकलाई कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरप्रसाद गुरुङको हातबाट पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

८ टिमको सहभागिता रहेको प्रतियोगितामा मंगलबार दिउँसो १ बजे तनहुँ जिल्ला फुटबल विकास समिति र नेपाल प्रहरी गण्डकी प्रदेशको टिम बीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टोलीले ४ लाख ९९ हजार ९९९ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैबीच, आयोजकका अनुसार छैटौँ टाइगर कप च्याम्पियनसिप अन्तर्गत पुरुष तथा महिला दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेता टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: