
पोखरा। पोखरामा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जना बालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका-३० मुसीटुँडाका सिताराम श्रेष्ठले वडा नं. २९ घोतघोटेस्थित पसल अगाडि पार्किङ गरी राखेको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकल गत १० गते अपराह्न करिब ३ बजे चोरी भएको थियो।
मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो। अनुसन्धानका क्रममा उक्त मोटरसाइकल तीन जना बालकले चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले गत १० गते राति करिब ४ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका-२ गणेश टोलस्थित पृथ्वीराजमार्ग सडकखण्डबाट चोरी भएको मोटरसाइकलसहित ती तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ कार्यमा इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँको समेत सहकार्य रहेको प्रहरीले जानकारी दिएको छ।
नियन्त्रणमा लिइएका तीनै जना कानुनको विवादमा परेका बालक भएको जनाउँदै प्रहरीले चोरी सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
