
पोखरा। सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशले लामो समयदेखि निष्क्रिय रहेका थप ९ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। यससँगै गण्डकी प्रदेशमा हालसम्म दर्ता खारेज हुने सहकारीको संख्या ३५ पुगेको छ।
कार्यालयले यसअघि नै २६ वटा सहकारीको दर्ता खारेज गरिसकेको थियो। माघ ९ गतेको निर्णयअनुसार स्याङ्जाका ४, पर्वतका ४ र नवलपुरको १ गरी कुल ९ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको हो।
गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (९) बमोजिम लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका सहकारीहरूको दर्ता खारेज गरिएको सहकारी रजिस्ट्रारको कार्यालयले जनाएको छ।
सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार गत असार १५ गते ३५ दिने सूचना प्रकाशित गरी अद्यावधिक हुन आह्वान गरिए पनि सम्पर्कमा नआएका सहकारीहरू खारेजीमा परेका हुन्।
“दर्ता खारेज भए पनि संस्थाको कुनै दायित्व बाँकी रहेमा त्यसको जिम्मेवारी सञ्चालक समिति र पदाधिकारीकै हुनेछ,” रिजालले स्पष्ट पारे। उनका अनुसार बागलुङ जिल्लाका थप निष्क्रिय सहकारीहरू पनि खारेजीको तयारीमा रहेका छन्।
स्याङ्जामा सबैभन्दा धेरै सहकारी खारेज
कार्यालयका अनुसार हालसम्म दर्ता खारेज हुने सहकारीमध्ये सबैभन्दा धेरै स्याङ्जाका १२ वटा रहेका छन्। यस्तै, गोरखाका ६, पर्वतका ५, तनहुँका ४, कास्कीका ३ र म्याग्दीका २ वटा सहकारीको दर्ता खारेज भइसकेको छ। लमजुङ, बागलुङ र नवलपुरमा भने १/१ वटा सहकारी खारेज भएका छन्।
पछिल्लोपटक दर्ता खारेज हुने सहकारीमा स्याङ्जाको वालिङस्थित टापु भञ्ज्याङ कृषि, कटौजे अदुवा उत्पादक, चापाकोटको खड्क कालो कृषि र सरोवर कृषि सहकारी संस्था रहेका छन्।
यस्तै, पर्वतको कुश्मास्थित गहते पखरा दुग्ध उत्पादक, प्रगति कफी, पूर्णेश्वर कफी, पर्वत आदर्श नमुना कृषि सहकारी तथा नवलपुरको हुप्सेकोटस्थित भूपूसैनिक सहकारी संस्थाको पनि दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ।
