विश्वकपका लागि नेपाल ‘एक्साइटेड’ छौँ, तयारी उत्कृष्ट छ : कप्तान रोहित पौडेल

Share:

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले २०२६ को विश्वकपका लागि टिमको तयारी उत्कृष्ट अवस्थामा रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) सँग गरिएको छोटो भिडियो कुराकानीमा उनले टोली पूर्ण रूपमा आत्मविश्वासका साथ विश्वकपतर्फ अघि बढिरहेको बताएका हुन्।

‘एकदम राम्रो तयारी भएको छ। अझै अभ्यास खेल खेल्दैछौँ। हामी विश्वकपका लागि निकै एक्साइटेड छौँ,’ कप्तान पौडेलले भने। उनका अनुसार नयाँ र अनुभवी खेलाडीहरूको संयोजनले नेपालको टिम सन्तुलित र प्रतिस्पर्धी बनेको छ। तीन जना खेलाडी पहिलो पटक विश्वकप खेल्न लागेको र अनुभवी अलराउन्डर सोमपाल कामी तेस्रो पटक विश्वकपमा सहभागी हुन लागेका विषयले टोलीमा थप उत्साह थपिएको उनले बताए।

कप्तान पौडेलले धेरैको अपेक्षा अनुसार नै नेपाल विश्वकपमा पुग्न सफल भएको उल्लेख गर्दै यस यात्रामा मानसिक दबाबसमेत महसुस भएको स्वीकार गरे। तर, त्यो दबाबलाई प्रेरणाका रूपमा लिएको उनको भनाइ छ।

‘हामी मैदानमा शतप्रतिशत दिनेछौँ। हाम्रो खेलले नेपाल र नेपालीलाई गर्व गर्ने अवस्था सिर्जना गर्नेछ,’ उनले प्रतिबद्धता जनाए। विश्वकप नजिकिँदै जाँदा कप्तानको आत्मविश्वासी अभिव्यक्तिले समर्थकहरूमा उत्साह थपिएको छ भने नेपाली क्रिकेट टोली ऐतिहासिक उपलब्धिको लक्ष्यसहित मैदान उत्रिन तयार देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: