
काठमाडौं। निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन्। पछिल्ला दिनमा सामाजिक सञ्जाल र सार्वजनिक बहसमा फैलाइँदै आएको “प्रधानमन्त्रीकै आदेशमा गोली चल्यो” भन्ने आरोपलाई ओलीले पूर्ण रूपमा निराधार र भ्रामक भनेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत लामो स्पष्टिकरण जारी गर्दै ओलीले भने,“संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिन अधिकार दिएको छैन। मैले त्यस्तो आदेश कहिल्यै दिएको छैन, र सोच्न पनि सक्दिनँ।”
बालेनको टिप्पणीपछि चर्कियो बहस
प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहस हुनुपर्ने माग उठिरहेका बेला ओलीले बहसका लागि आफू तयार रहेको बताएका थिए। त्यसमा प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले “भदौ २३ गते बालबालिकामाथि गोली हान्न आदेश दिनेहरूसँग मञ्च शेयर नगर्ने” टिप्पणी गरेपछि यो विषय झन् चर्चामा आएको हो।
ओलीले माइतीघरमा भएको जेनजी आन्दोलन शान्तिपूर्ण रहेको र त्यहाँ न गोली चलेको, न लाठीचार्ज भएको दाबी गरेका छन्। उनका अनुसार, बिहानदेखि शान्तिपूर्वक चलिरहेको प्रदर्शन दिउँसो करिब १२ बजेपछि घुसपैठ गर्ने समूहहरू सक्रिय भएपछि हिंसात्मक मोडमा पुगेको थियो।
“बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजियो। संसद् भवनमा आक्रमण भएपछि कानुन अनुसार सुरक्षा निकायले बल प्रयोग गर्नुपर्यो,” ओलीको भनाइ छ।
ओलीका अनुसार संसद् भवनअघि आगजनीको प्रयास, विष्फोटक पदार्थ प्रयोग र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि अवस्था आन्दोलनबाट ‘राज्यविरुद्धको हमला’ मा परिणत भएको थियो।
त्यसपछि मात्र गोली चलेको र त्यसपछिका दुई घण्टाका घटनाले देशलाई गहिरो घाउ दिएको उनको भनाइ छ।
१९ नानीबाबुप्रति श्रद्धाञ्जली
घटनापछि तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको उल्लेख गर्दै ओलीले ज्यान गुमाएका १९ जना बालबालिकाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
“त्यो पीडा आजसम्म पनि मसँगै छ,” उनले भनेका छन्। सुरक्षाकर्मीहरूले सरकारको होइन, कानुनको सपथ लिएको उल्लेख गर्दै ओलीले गोली सरकारको आदेशमा नभई कानुनी दायराभित्र चलाइएको दाबी गरेका छन्।
अन्त्यमा उनले प्रश्न उठाएका छन्,“माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी पुर्यायो ?”
ओलीले सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गर्दै आफू कुनै पनि सार्वजनिक मञ्चमा बसेर प्रश्नको उत्तर दिन तयार रहेको बताएका छन्।
