
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रश्मी आचार्यले संसदमा सुशासन र समृद्धिको पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरा महानगरपालिका वडा नं. ११ मा बुधबार आयोजित युवा भेलालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले युवामैत्री ऐन, कानुन तथा नीतिनिर्माणमा सक्रिय रूपमा जुट्ने विश्वास दिलाए। उनले राष्ट्रियताको संरक्षणसँगै मुलुकको समग्र विकासका लागि युवावर्गलाई सशक्त रूपमा अघि बढ्न आग्रह गरे।
नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहनुभएकी आचार्यले एमाले राष्ट्रिय स्वाभिमानको पहरेदार पार्टी भएको उल्लेख गर्दै युवाले उठाएका मुद्दा तथा एजेण्डालाई पार्टीको चुनावी संकल्पपत्रमा समेटिने प्रतिवद्धता जनाए।
युवालाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्दै समृद्धिको अभियानमा युवाको भूमिका निर्णायक हुने बताए।
कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, युवा नेता शासिस गुरुङलगायतले युवासँग अन्तरक्रिया गर्दै घोषणामा सीमित नभई प्रतिवद्धताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
उम्मेदवार आचार्यले आजै सोही वडाका पार्टी कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाटसमेत गरेका थिए । भेटघाटका क्रममा निर्वाचनमा मात्र केन्द्रित नभई जनताका दैनिकीका समस्या समाधानमा जनप्रतिनिधिले निरन्तर ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
