
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० को खुदी र वडा नम्बर ३१ को मोहरियामा दुईवटा सम्पर्क कार्यालय स्थापना गरिएको छ।
बुधबार आयोजित उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार तिलकबहादुर रानाभाटले देशलाई विद्यमान संकटबाट मुक्त गराउन कांग्रेसलाई बहुमत आवश्यक रहेको स्पष्ट पारे। उनले आफू जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै देश र जनताको आवश्यकता नै आफ्नो प्रमुख प्राथमिकता हुने बताए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले कांग्रेसको नेतृत्वमा मात्र देशले राजनीतिक निकास र विकासको बाटो पाउने दाबी गरे। केन्द्रीय सदस्य कृष्ण केसीले पार्टीभित्रका सबै नेता–कार्यकर्ताले आफूलाई नै तिलक रानाभाट ठानेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।
पूर्वमन्त्री तथा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले कांग्रेस नै देशको भविष्य भएको उल्लेख गरे। त्यस्तै, कास्की सभापति किशोर दत्त बरालले सुधारिएको कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको बताए।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ३० का सभापति ध्रुवराज न्यौपाने, वडा नम्बर ३१ का कार्यवाहक सभापति भानुभक्त पौडेल, उपसभापतिहरू डम्मरु बल्लभ चापागाईं, वीरबहादुर लामा वाइबा, सचिवहरू रामचन्द्र अधिकारी, श्रीराम कडेल, वीरभद्र कडेल तथा युवा नेता प्रतापमोहन पौडेललगायतले कांग्रेसको जित सुनिश्चित गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए।
सूचना, सञ्चार तथा आइटी समितिका संयोजक तथा कास्की सहसचिव नवीन सिग्देलका अनुसार कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा चुनावी अभियानअन्तर्गतका कार्यक्रमहरू औपचारिक रूपमा सुरु गरिसकेको छ।
