प्रतिनिधि सभा निर्वाचनको तयारीमा कांग्रेस कास्की, ५ हजार एक सदस्यीय मूल समिति गठन

Share:

पोखरा। नेपाली कांग्रेस कास्कीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी तीव्र बनाएको छ। निर्वाचनलाई प्रभावकारी ढंगले अघि बढाउन कांग्रेस कास्कीले विभिन्न समिति गठन गर्दै अभियानलाई व्यवस्थित बनाउने रणनीति अघि सारेको छ।

तयारीका क्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको सहसचिव नवीन सिग्देलले जानकारी दिए।

कास्की कांग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन व्यवस्थापन सचिवालय पनि गठन गरेको छ। सचिवालयका सदस्यहरूमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहेका छन्।

त्यसैगरी इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा चौबहादुर गुरुङ, बुद्धिमान गुरुङ, सुरेन्द्र अधिकारी र श्याम गुरुङ रहेका छन्।

यसैबीच, नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले चुनावी अभियानलाई थप सशक्त बनाउने उद्देश्यले बिहीबार पोखरा महानगरपालिका-१३ मा सम्पर्क कार्यालय स्थापना गरेको छ। सम्पर्क कार्यालयको उद्घाटन कास्कीको तत्कालीन थुमाकोडाँडा गाविसका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङले गरे।

उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलकबहादुर रानाभाटले मतदाताबाट पाइरहेको प्रेम, सद्भाव र समर्थनले आफू थप उत्साहित भएको बताए। उनले जनताका समस्या समाधान र विकास योजनालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका रानाभाटले जनताको आवाज संसदमा पुर्‍याउँदै दीर्घकालीन विकासमा योगदान गर्ने उल्लेख गरे। कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले समाजमा देखिएका बेथितिहरूको अन्त्य गर्न नेपाली कांग्रेस नै सक्षम शक्ति भएको दाबी गरे।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति-१३ का सभापति माधवप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष किरण बराल, विद्यार्थी नेता दीपक पौडेल र वडा कार्यसमितिका सचिव बुद्धिराज बरालले समेत मन्तव्य राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: