पोखरा महानगरपालिकाद्वारा २३ सयभन्दा बढी विद्यार्थीलाई डिजिटल साक्षरता अभिमुखीकरण

Share:

पोखरा। पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा नगर क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयका २३ सयभन्दा बढी विद्यार्थीहरूलाई डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। परिषद्का उपाध्यक्ष सन्तोष न्यौपानेका अनुसार एकदिने अभिमुखीकरण कार्यक्रममा Digital Safety, Misinformation and Disinformation, Digital Accessibility तथा AI Toolsलगायतका विषयमा प्रशिक्षण दिइएको हो। विद्यार्थीहरूमा डिजिटल प्रविधिको सही, सुरक्षित र जिम्मेवार प्रयोगका लागि आवश्यक ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

“आजको डिजिटल युगमा शिक्षा, बैंकिङ, सरकारी सेवा, स्वास्थ्य, व्यापार र रोजगारीजस्ता अधिकांश गतिविधि अनलाइन माध्यममा आधारित हुँदै गएका छन्,” न्यौपानेले भने, “यसको प्रभावकारी उपयोगका लागि डिजिटल साक्षरता अपरिहार्य छ।”

डिजिटल साक्षरताले सही सूचना पहिचान गर्न, भ्रामक समाचार तथा साइबर अपराधबाट जोगिन र व्यक्तिगत जानकारी सुरक्षित राख्न सहयोग पुग्ने उनको भनाइ छ। पोखरा महानगरपालिकाले डिजिटल साक्षरता कार्यक्रममार्फत कामको दक्षता र उत्पादकत्व वृद्धि, सूचना तथा प्रविधिमा समान पहुँच सुनिश्चित गर्दै सामाजिक तथा आर्थिक समावेशितालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

परिषद्ले विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रशिक्षक प्रशिक्षण (ToT) प्रदान गरी उनीहरूलाई प्रशिक्षकका रूपमा परिचालन गर्दै विभिन्न विद्यालयहरूमा डिजिटल साक्षरता अभिमुखीकरण सञ्चालन गरेको हो।

सो अवसरमा विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) को सही र उपयोगी प्रयोगसम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो। नगर युवा परिषद्ले यसअघि पनि युवा, उद्यमी तथा विद्यार्थी लक्षित विभिन्न क्षमता विकासमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: