
पोखरा। पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथ युथ क्रिकेट क्लबले प्रभावशाली जित दर्ता गरेको छ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा र लेखनाथमा जारी प्रतियोगिताअन्तर्गत पोखरा क्रिकेट मैदानमा सम्पन्न खेल प्रतिकूल मौसमका कारण २५ ओभरमा सीमित गरिएको थियो।
खेलमा लेखनाथ युथ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै महत्वपूर्ण जित हासिल गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको लेखनाथले २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनायो।
लेखनाथका लागि देव यादवले २८ रन, प्रताप थापाले २५ रन र राजकुमार छन्त्यालले १९ रनको योगदान दिए। माछापुच्छ्रेका तर्फबाट रितेश बरालले ५ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे।
१०८ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रे क्रिकेट क्लब १६.१ ओभरमा ७० रनमै अलआउट हुन पुग्यो। माछापुच्छ्रेका लागि अनिश जिसीले सर्वाधिक २१ रन बनाए।
रितेश बरालले ११ रन जोडे भने कविन सापकोटा र प्रमोद बास्तोलाले समान ५–५ रन बनाए। अन्य ब्याटरहरू उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
लेखनाथको बलिङतर्फ शाहिल पौडेलले ४ विकेट, सज्जन क्षेत्रीले ३ विकेट, सुशिल सुवेदीले २ विकेट र सुवाष बास्तोलाले १ विकेट लिएर विपक्षीलाई दबाबमा राखे।
