
पोखरा। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे।
उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्य आधारका रूपमा लिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकता दिँदै आएको स्पष्ट पारे।
मन्त्री थापाले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान, क्षमता विकास र प्रोत्साहन नगरी शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन सम्भव नहुने बताउँदै भने, “प्रतिभा पहिचान कार्यक्रमले शिक्षक र विद्यार्थीभित्र रहेको सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्व क्षमतालाई उजागर गर्छ। यसले शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धी र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पुर्याउँछ।”
शिक्षाको उज्यालो बाटोबाटै प्रदेश र राष्ट्रको भविष्य उज्यालो बनाउने प्रदेश सरकारको संकल्प अझ दृढ हुँदै गएको उल्लेख गर्दै उनले शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा क्रियाशील सबै सरोकारवालाको सक्रिय सहभागिता बिना शैक्षिक सुधार सम्भव नहुने धारणा व्यक्त गरे। यसका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा आवश्यक नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनमार्फत गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जानकारी दिए। आगामी दिनमा प्रविधिमैत्री शिक्षा, सीपमूलक तथा व्यवहारिक शिक्षामा जोड दिँदै स्थानीय आवश्यकताअनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गरिने बताए।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले यस्ता प्रतिभा पहिचान कार्यक्रमले आफ्नो क्षमता पहिचान, आत्मविश्वास अभिवृद्धि र सिर्जनशील अभ्यासमा सहयोग पुगेको अनुभूति व्यक्त गरे। उनीहरूले प्रदेश सरकारसँग यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न मागसमेत गरेका छन्।
प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमले शिक्षाक्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयास आवश्यक रहेको औंल्याएको सरोकारवालाहरूको भनाइ छ। यस कार्यक्रमले गण्डकी प्रदेशमा शिक्षाको गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
