
पोखरा । पोखरासहित मुस्ताङ, मनाङ, मुक्तिनाथलगायतका प्रमुख पर्यटकीय गन्तव्यतर्फ बिना रुट परमिट सञ्चालन भइरहेका भारतीय निजी तथा सार्वजनिक सवारीसाधनको प्रभावकारी व्यवस्थापन र अनुगमन गर्न पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले सम्बन्धित निकायसँग माग गरेको छ।
संघका अनुसार भारतीय पहेंलो नम्बर प्लेट भएका सार्वजनिक तथा सेतो नम्बर प्लेट भएका निजी सवारीसाधन पोखरा तथा आसपासका पर्यटकीय गन्तव्यमा रुट परमिटविना सिधै प्रवेश गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै स्थानीय पर्यटन तथा यातायात व्यवसायीहरू समेत प्रभावित भएका छन्। यस विषयमा संघले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको हो।
संघका अध्यक्ष दुर्गादत्त दहालका अनुसार नेपाल-भारत सीमावर्ती शहरबाट भाडामा सञ्चालन हुने भारतीय सवारीसाधनले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ र मनाङसम्म पुर्याउँदा हाई अल्टिच्युडका कारण पर्यटकमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ। साथै, विदेशी चालकलाई नेपालको भौगोलिक अवस्था र ग्रामीण सडकको जानकारी नहुँदा दुर्घटनाको सम्भावना समेत बढेको संघको भनाइ छ।
यस्तो अवस्थाको अन्त्यका लागि संघले विदेशी सवारीसाधन पोखरामा पार्किङ गरी स्थानीय सवारीसाधन प्रयोग गरेर मात्र हिमाली गन्तव्यमा यात्रा गर्ने व्यवस्था मिलाउन सहजीकरण गर्न आग्रह गर्दै यही माघ १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष दहालले जानकारी दिए।
संघको ध्यानाकर्षणपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी, कास्कीलाई विदेशी सवारीसाधनको चेकजाँच तथा नियमन प्रभावकारी बनाउन निर्देशन दिएको अध्यक्ष दहालले बताए। प्रशासनको यस पहलले स्थानीय व्यवसायीलाई राहत मिल्ने विश्वाससमेत उनले व्यक्त गरे।
संघले यही माघ ८ देखि ११ गतेसम्म पोखरा-१, याम्दी क्षेत्रमा गरेको अनुगमनका क्रममा थुप्रै भारतीय सवारीसाधन बिना रुट परमिट र भन्सार प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको पाइएको जनाएको छ।व्यवसायीहरूका अनुसार भारतमा करिब २० लाख रुपैयाँ मूल्य पर्ने सवारीसाधन नेपालमा ७०/८० लाख रुपैयाँसम्म खर्च गरेर सञ्चालन गर्नुपर्ने अवस्था हुँदा बिना रुट परमिट भारतीय सवारीसाधनले सिधै पर्यटकीय गन्तव्यमा प्रवेश गर्दा स्थानीय यातायात व्यवसायी थप मर्कामा परिरहेका छन्।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली र भारतीय मिलेर भारतीय सवारीसाधन नेपालभित्र ल्याई व्यवसाय सञ्चालन गर्दा समस्या झनै जटिल बनेको व्यवसायीहरूको भनाइ छ। नेपाल सरकारको नियमानुसार विदेशी सवारीसाधन तीन महिनाभन्दा बढी नेपालमा बस्न नपाउने व्यवस्था भए पनि त्यसको स्पष्ट अभिलेख र अनुगमन नहुँदा समस्या बढ्दै गएको उनीहरूको गुनासो छ।
संघका पूर्वअध्यक्ष बोबरजंग गुरुङका अनुसार भारतीय सवारीसाधनबाट आएका पर्यटक सिधै मनाङ, मुस्ताङजस्ता उच्च हिमाली गन्तव्यमा पुग्दा स्वास्थ्य जोखिम बढेको छ। “सीमावर्ती शहरबाट आउने सवारीसाधन सिधै जोमसोम, मुक्तिनाथ र मनाङ पुग्दा उच्च उचाइका कारण पर्यटकलाई विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ,” उहाँले भन्नुभयो, “त्यसमा विदेशी चालकलाई यहाँको सडक र भूगोलको जानकारी नहुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ।”
विदेशी सवारीसाधन पोखरासम्म मात्र आएर यहाँ पार्किङ गरी त्यसपछि स्थानीय सार्वजनिक तथा पर्यटक सवारीसाधन प्रयोग गराउन सके दुर्घटनाको जोखिम न्यूनिकरण हुनुका साथै स्थानीय पर्यटन व्यवसायीलाई समेत प्रत्यक्ष लाभ पुग्ने व्यवसायीहरूको तर्क छ।
बेलुकी भन्सारको टिकट काटेर रातारात प्याकेज बनाएर दुई/तीन सय मिटर उचाइबाट चार हजार दुई सय मिटर उचाइसम्मका गन्तव्यमा सिधै पुग्ने प्रवृत्तिले स्थानीय व्यवसायमा असर पर्नुका साथै गम्भीर दुर्घटना निम्त्याउन सक्ने खतरा बढाएको भन्दै व्यवसायीहरूले यसतर्फ तत्काल चासो दिई उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
