
पोखरा । प्रेम दिवसको अवसरमा पोखरामा नेपाली पप संगीतका चर्चित गायक सुगम पोखरेलको ‘मेरो एउटा साथी’ कन्सर्ट आयोजना हुने भएको छ। ‘प्रेमिल मनका लागि’ नारासहित फेब्रुअरी १४ मा पोखराको लेभल्स क्लबमा सुगम पोखरेल र बाजागाजा ब्याण्डले आफ्ना लोकप्रिय प्रेमिल गीतहरू प्रस्तुत गर्नेछन्।
मेन मिडिया र एसटी क्रियसनको आयोजनामा हुन लागेको कन्सर्टबारे जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम सार्वजनिक गरिएको हो। कार्यक्रममा सुगम पोखरेलले आफ्ना चर्चित तथा रोजाइका प्रेम गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउने मेन मिडियाका प्रबन्ध निर्देशक सुन्दर बस्यालले जानकारी दिए।
“जीवनमा गास, बास र कपासजस्तै प्रेम पनि उत्तिकै अनिवार्य छ,” बस्यालले भने, “संगीतले त्यो प्रेमलाई अझ गहिरो बनाउने विश्वास हामीले लिएका छौं।”
आयोजक एसटी क्रियसनका प्रबन्ध निर्देशक सुरज थापाका अनुसार कन्सर्टमा सुगम पोखरेलसँगै अर्का चर्चित गायक कमल तथा केही अन्य लोकप्रिय कलाकारहरूको समेत प्रस्तुति रहनेछ।
“सुगम नेपाली संगीत क्षेत्रमा आफैंमा एक ब्रान्ड हुन्,” थापाले भने, “उनका गीतहरूले प्रेम दिवसमा तन्नेरी दर्शकलाई झुमाउनेछन्। प्रेम र संगीतमा नयाँ स्वाद पस्किन हामीले यो कार्यक्रम ल्याएका हौं।”
मैत्रीभाव, प्रेम र एकताको सन्देश बोकेका सदाबहार गीतमार्फत सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बस्यालले बताए।
नेपाली पप संगीतलाई मुख्यधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सुगम पोखरेलले ‘मेरो संसार’, ‘फेरि त्यो दिन सम्झन चाहन्न’ लगायतका सयौं कालजयी गीतमार्फत पोखराको माहोल तताउनेछन्।
पत्रकार सम्मेलनमा बोल्दै गायक विनोद बानियाले प्रणय दिवसमा प्रेमभाव बोकेका गीत–संगीतमार्फत दर्शकले भरपूर मनोरञ्जन लिन सक्ने बताए।
यस्ता सांगीतिक गतिविधिले सहरलाई जीवन्त बनाउने पनि उनले उल्लेख गरे। प्राविधिक कारणले आफ्नो सांगीतिक समूह सहभागी हुन नसके पनि सुगमको प्रस्तुतिले सबैलाई जोड्ने विश्वास व्यक्त गरे।
चुनावी गतिविधि चलिरहेको र मतदानको मिति नजिक रहेकाले क्लबभित्रै कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
लेभल्स क्लबमा करिब ७ सय दर्शकले प्रत्यक्ष रूपमा कन्सर्ट अवलोकन गर्न सक्ने क्लब सञ्चालक अमित रोकाले बताए। सुरक्षाको व्यवस्था पर्याप्त रहेको उनको भनाइ छ।
कार्यक्रमका लागि ९ सय ९९ रुपैयाँको टिकट इसेवा मार्फत तथा कार्यक्रम स्थलमै खरिद गर्न सकिने आयोजकले जनाएको छ।
