
पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ ले संगठित रणनीतिसहित प्रचार अभियान सुरु गरेको छ। शुक्रबार पोखरा महानगरपालिका-२ स्थित बिन्धवासिनीमा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेसले घरदैलो अभियान, मतदाता शिक्षा र संगठन विस्तारलाई तीव्र बनाएको हो।
प्रतिनिधिसभातर्फका उम्मेदवार मनोज गुरुङ र समानुपातिकतर्फका उम्मेदवार आई बहादुर गुरुङलाई विजयी गराउने लक्ष्यसहित कांग्रेसले ८ हजार १ सदस्यीय निर्वाचन मूल आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर रहेका छन्।
समितिको सह–संयोजकमा खिमलाल बास्तोला र विष्णुबहादुर क्षेत्री, सचिवमा लक्ष्मीप्रसाद पौडेल र मेख तामाङ, कोषाध्यक्षमा मनपति भण्डारी तथा सह-कोषाध्यक्षमा खेमलाल पहारी तोकिएका छन्। यस्तै सह-सचिवमा आइन्दल गुरुङ र सिटल अधिकारी तथा प्रवक्तामा महेश तिमिल्सिना चयन भएका छन्।
चुनावी अभियानलाई प्रभावकारी बनाउन मूल समितिअन्तर्गत २४ वटा उपसमिति गठन गरिएको छ। घोषणापत्र निर्माण, मिडिया परिचालन, अनुगमन, शिक्षक-प्राध्यापक तथा बुद्धिजीवी परिचालन, यातायात व्यवस्थापन, तरुण-युवा तथा विद्यार्थी परिचालन, मतदान शिक्षा, महिला परिचालन, मतदाता समन्वय, अर्थ संकलन, सांस्कृतिक, स्वयंसेवक, कानुनी परामर्श, निवृत्त कर्मचारी, पर्यटन व्यवसायी, आदिवासी जनजाति, भूपू सैनिक, दलित-अल्पसंख्यक तथा संघ-संस्था समन्वयलगायत उपसमितिहरू सक्रिय बनाइएका छन्। नयाँ पुस्तालाई लक्षित गर्दै जेनजी संयोजकसमेत तोकिएको छ।
कार्यालय उद्घाटन समारोहमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले चुनावी सफलता पार्टीको एकता, अनुशासन र सक्रियतामा निर्भर रहने बताए। “२०५६ सालको ऐतिहासिक जित दोहोर्याउन घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद आवश्यक छ,” उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले कांग्रेस परिवर्तनशील र जनमुखी बनेको सन्देश जनतामाझ पुर्याउनुपर्ने बताए। उम्मेदवार मनोज गुरुङ र आई बहादुर गुरुङले पार्टीको एकतामै शक्ति रहेको उल्लेख गर्दै सबै नेता-कार्यकर्तालाई सक्रिय रूपमा प्रचारमा जुट्न आग्रह गरे।
निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, महासमिति सदस्य सिता गुरुङलगायत वक्ताहरूले संगठन सुदृढ गर्दै मतदाताको विश्वास जित्नुपर्नेमा जोड दिए।
यसैबीच, कास्की क्षेत्र नम्बर १ अन्तर्गत रुपा गाउँपालिकाका विभिन्न स्थानमा पनि सम्पर्क कार्यालय स्थापना गरिएको छ। रुपा-५ देउराली, रुपा-४ खाल्टे, रुपा-३ पोल्याङटार र रुपा-१ दरगाउँटारमा सम्पर्क कार्यालय स्थापना गरिएको कांग्रेस क्षेत्र नं. ३ का सचिव ओमप्रकाश गुरुङले जानकारी दिए। कांग्रेस कास्कीका प्रवक्ता तथा सूचना, सञ्चार तथा आईटी समितिका संयोजक नविन सिग्देलका अनुसार ती क्षेत्रमा भेटघाट र घरदैलो अभियानलाई तीव्र पारिएको छ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार तीलकराज रानाभाटले क्षेत्रको समग्र विकास र जनताका आवाज संसदमा पुर्याउन रुख चिन्हमा मतदान गर्न आग्रह गरे। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, निवर्तमान सहमहामन्त्री जीवन परियार, गण्डकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, नेता प्रकाश मोहन खनाल, प्रदेश सदस्य अप्सरा श्रेष्ठ, रुपा गाउँपालिका सभापति विमलबाबु न्यौपाने लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
