
पोखरा । कास्कीको मादी गाउँपालिका-६ स्थित पर्यटकीय चिप्ली गाउँमा यही फागुन २ गतेदेखि ४ गतेसम्म महाशिवरात्री मेला आयोजना हुने भएको छ। चिप्ली गाउँमा क्रियाशील सिद्ध युवा क्लबको आयोजनामा मेला सञ्चालन हुन लागेको हो।
क्लबका अध्यक्ष नारायण गुरुङका अनुसार सिद्ध युवा क्लबको ३८औँ वार्षिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिइएको हो।
“महाशिवरात्री मेलाले चिप्ली गाउँको पर्यटन प्रवर्द्धनसँगै खेलकुद, सामाजिक सद्भाव र स्थानीय विकासमा टेवा पुग्ने अपेक्षा लिएका छौँ,” अध्यक्ष गुरुङले भने। मेलाअन्तर्गत वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी तथा म्युजिक चेयर प्रतियोगिता आयोजना गरिनेछ।
वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा विजेता टोलीले नगद ८० हजार रुपैयाँ तथा उपविजेता टोलीले ४० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
यस्तै, रस्साकस्सी प्रतियोगितामा विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँ, प्रमाणपत्र तथा फेटा ओढाएर सम्मान गरिने क्लबले जनाएको छ।
कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका-६ चिप्ली गाउँ पोखराबाट काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक र तप्राङ हुँदै पुग्न सकिन्छ। पोखराबाट सवारी साधनमार्फत करिब १ घण्टाको यात्रामा चिप्ली गाउँ पुग्न सकिने भएकाले मेलामा उल्लेख्य दर्शकको सहभागिता रहने आयोजकको विश्वास छ।
आयोजकका अनुसार महाशिवरात्री मेलाले स्थानीय संस्कृति संरक्षण, खेलकुद विकास तथा चिप्ली गाउँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


