एमाले पोखरा-१५ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका-१५ को निर्वाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेन-जी युवाहरूले उद्घाटन गरेका छन्। कार्यालय उद्घाटन कार्यक्रममा युवाहरूले कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रश्मि आचार्य सबैको साझा उम्मेदवार भएको स्पष्ट पारेका छन्। उनीहरूले युवाका एजेन्डा कार्यान्वयन गर्न युवा नेतृत्वलाई सफल बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।

कार्यक्रममा युवाहरूले देशको नीति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भूमिका खेल्न सक्ने सक्षम युवा उम्मेदवारको खोजीमा आफूहरू रहेको उल्लेख गर्दै कास्की-२ बाट रश्मि आचार्यलाई विजयी गराएर त्यो चाहना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सो अवसरमा उम्मेदवार रश्मि आचार्यले आफू युवाहरूको सशक्तिकरणलगायत महत्वपूर्ण एजेन्डामा उत्साह र कटिबद्धतासहित अघि बढेको बताउँदै सबैको सुझावलाई समेटेर व्यावहारिक कार्ययोजना निर्माण गर्ने प्रतिबद्धता जनाए।

उनले कास्की क्षेत्र नं. २ का मतदाताहरूबाट प्राप्त सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरिएको जानकारी दिँदै टोल-टोलका आवश्यकता, जनभावना र युवालाई केन्द्रमा राखेर अभियान अघि बढाइएको बताए। कार्यक्रममा सहभागी युवाहरूले युवा नेतृत्वलाई अगाडि ल्याउने अभियानमा आचार्यप्रति विश्वास व्यक्त गर्दै उनको विजय सुनिश्चित गर्न जिम्मेवार र संगठित रूपमा अघि बढ्ने प्रण गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: