स्थानीयको आवाज सुन्दै कास्की-१ का उम्मेदवार गनेस पौडेल : ‘भाषण होइन, समाधान चाहियो’

Share:

पोखरा । प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानीय नागरिकसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन् । ‘भाषणभन्दा काम चाहियो’ भन्ने जनताको स्पष्ट सन्देशलाई उनले आफ्नो चुनावी अभियानको केन्द्रमा राखेका छन् ।

सोमबार पौडेलले पोखरा महानगरपालिका वडा नम्बर १४ को इन्द्रमार्ग, वडा नम्बर २६ को भवानी टोल तथा वडा नम्बर ३० र ३१ अन्तर्गतको मोहोरियामा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट र सुझाव संकलन गरे । संवादका क्रममा स्थानीयवासीले युवालाई विदेशिन बाध्य बनाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै रोजगारी र अवसर सिर्जनाको अपेक्षा व्यक्त गरे ।

धेरै स्थानीयले ठूला भाषण र आश्वासनभन्दा व्यवहारमा देखिने काम चाहिएको भन्दै उम्मेदवार पौडेललाई जितको शुभकामना पनि दिएका थिए ।

स्थानीयसँगको संवाद नै आफ्नो राजनीतिक अभियानको मूल आधार भएको बताउँदै पौडेलले भने, ‘हामी भाषण गर्ने राजनीति होइन, जनताको आवाज सुन्ने र त्यसैअनुसार काम गर्ने राजनीतिमा विश्वास गर्छौं । यहाँ उठेका सबै समस्या हाम्रो प्राथमिकतामा छन् । जनताले भनेका कुरा नै हाम्रो बाचापत्रको आधार बन्छ।’

उनले पारदर्शिता, जवाफदेहिता र स्थानीय आवश्यकताअनुसार विकास गर्ने प्रतिबद्धता पनि दोहोर्याए । यसैबीच, सोमबार नै उम्मेदवार पौडेलले रुपा गाउँपालिकाको देउराली फेदी, पोल्याङ, टाकान्जा र फैचोक क्षेत्रमा पुगेर ग्रामीण नागरिकसँग पनि संवाद गरे । रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार ती क्षेत्रमा कृषि प्रवर्द्धन, सडक पहुँच विस्तार र बजार व्यवस्थापन प्रमुख चासोका विषय बनेका थिए ।

‘स्थानीय संवाद यात्रा’ मंगलबार पनि निरन्तर रहने जनाइएको छ । निर्वाचन संयोजक श्रवण जमरकट्टेलका अनुसार मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १४ को विजयबस्ती, वडा नम्बर २८ अन्तर्गत माझठाना, सौर्य, रैकर, स्याङखुदी र खरानेफाँट क्षेत्रमा संवाद कार्यक्रम तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: