विश्व सिमसार दिवसमा पोखराका दुई विद्यालयमा संरक्षण सचेतना कार्यक्रम

Share:

पोखरा। विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा सिमसार संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। पोखराको विजयपुरस्थित लोमान्थाङको घुम्ती विद्यालय (दिव्य दीप माध्यमिक विद्यालय) र बैदामस्थित तालबाराही माध्यमिक विद्यालयमा पोखराका ताल-सिमसारको विगत र वर्तमान अवस्था झल्किने तस्बिर तथा भिडियोमार्फत विद्यार्थीलाई सचेत गराइएको हो।

पत्रकार तथा संरक्षणकर्मी कृष्णमणि बरालले करिब दुई दशकदेखि खिचेका पोखराका विभिन्न ताल, सिमसार, खोलानाला र नदीहरूको अवस्था देखाउने तस्बिर प्रस्तुत गर्दै सिमसार संरक्षणको महत्वबारे जानकारी दिएका थिए। तस्बिरमार्फत फेवाताल वर्षेनी कसरी पुरिँदै साँघुरिँदै गएको छ र प्रदूषणको चपेटामा परेको छ भन्ने विषय प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।

विश्व सिमसार दिवसको अवसरमा सोमबार लोमान्थाङको घुम्ती विद्यालयमा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्लास्टिकजन्य फोहोर तथा अन्य फोहोर जथाभावी फ्याँक्दा सिमसार, सार्वजनिक स्थल र प्राकृतिक सम्पदा गम्भीर जोखिममा पर्दै गएको अनुभव साझा गरे। उनीहरूले आफू फोहोर नफ्याँक्ने र अरूलाई पनि सचेत गराउने प्रतिबद्धता जनाए।

त्यसैगरी, तालबाराही माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सिमसार, फोहोरमैला व्यवस्थापन र जैविक विविधताको महत्वबारे फोटो तथा भिडियोमार्फत जानकारी दिइएको थियो। जथाभावी फोहोर फ्याँक्दा ताल, पानीका स्रोत र वातावरण प्रदूषित हुने भन्दै विद्यार्थीहरूले संरक्षणमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा पोखराका बेगनास, रुपा, गुदे ताललगायत खोलानालाका विभिन्न अवस्था झल्किने तस्बिरहरू पनि समावेश गरिएको थियो। सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले पोखराका ताल, नदी, नहर र खोलाहरू जथाभावी फोहोरका कारण प्रदूषणको चपेटामा परेको उल्लेख गर्दै प्राकृतिक स्रोत संरक्षणमा युवाहरूको भूमिका निर्णायक हुने बताए।

अर्का पत्रकार सागरराज तिमिल्सिनाले अवसरको खोजीमा शहरमा बसोबास गर्ने क्रम बढेसँगै शहरी सिमसार थप जोखिममा पर्दै गएको बताए। सन् २०५० सम्ममा शहरी जनसंख्या ६८ प्रतिशतसम्म पुग्ने अनुमान रहेको उल्लेख गर्दै उनले सिमसार संरक्षण युवा अवस्थादेखि नै सुरु गर्नुपर्नेमा जोड दिए।

खोला, नदी र तालहरू फोहोर बग्ने मात्र नभई दीर्घकालीन रूपमा फोहोर जम्मा हुने स्थानसमेत भएको उल्लेख गर्दै संरक्षणकर्मी तथा पत्रकार कृष्णमणि बरालले यसले सिमसारको जैविक विविधतामा प्रत्यक्ष असर पार्नुका साथै भविष्यमा स्वच्छ पानीको गम्भीर संकट निम्त्याउने खतरा रहेको चेतावनी दिए।

विद्यालयस्तरमा यस्ता सचेतना कार्यक्रमले विद्यार्थीलाई जैविक विविधता र सिमसार संरक्षणप्रति जिम्मेवार बनाउने तालबाराही माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक यदु पोखरेलले बताए। उनले सिमसार संरक्षणसम्बन्धी कार्यक्रमको निरन्तरता आवश्यक रहेकोमा जोड दिए। सिमसारहरू संसारकै सबैभन्दा पारिस्थितिक रूपमा समृद्ध प्रणालीमध्ये पर्ने बताउँदै विज्ञहरूले जहाँ सिमसार फस्टाउँछन्, त्यहाँ जैविक विविधता मात्र होइन सांस्कृतिक सम्पदा र परम्परागत ज्ञान पनि फस्टाउने उल्लेख गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: