
पोखरा। पोखरा महानगरपालिका वडा नं. १७ र १५ को सीमावर्ती क्षेत्र दोविल्लाका स्थानीयवासीले सेतीनदी र फुस्रे खोलाको तीव्र कटान नियन्त्रण गर्न दीर्घकालीन समाधानको माग गरेका छन्। बर्सेनि मनसुनका बेला कटान बढ्दै जाँदा पूरै वस्ती नै जोखिममा परेको भन्दै उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। चुनावी अभियानका क्रममा उक्त क्षेत्रमा पुगेकी नेकपा (एमाले) तर्फकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्यसँग स्थानीयवासीले कटान नियन्त्रण र वस्ती संरक्षणका लागि स्पष्ट प्रतिबद्धता माग गरेका छन्।
स्थानीय भगवती पौडेलका अनुसार पोखरा-१७ र १५ को बीचमा रहेको सेतीनदी तथा पोखरा-२१ को सिमानामा पर्ने फुस्रे खोलाको संगमस्थल दोविल्लामा हरेक वर्ष मनसुन सुरु भएसँगै कटान झनै तीव्र हुँदै गएको छ। निरन्तर वर्षाका कारण वस्ती मात्र होइन, मुख्य सडकसमेत भासिने अवस्थामा पुगेको उनले बताए। केही वर्षअघि खोला किनारामा पर्खाल निर्माण सुरु गरिए पनि हालसम्म सम्पन्न हुन नसक्दा जोखिम झनै बढेको स्थानीयको गुनासो छ। अर्का स्थानीय गौतम गिरीका अनुसार उक्त क्षेत्रमा करिब ४४ घरपरिवार बसोबास गर्दै आएका छन्। कटानको जोखिम बढ्दै गएपछि केही परिवार विस्थापित हुन बाध्य भइसकेका छन्।
स्थानीयवासीले वस्ती संरक्षणका लागि नदी तथा खोलाको किनारामा तटबन्ध निर्माण, पर्खाल उठाउने र जोखिम न्यूनीकरणका अन्य उपाय तत्काल लागू गर्न माग गरेका छन्। दीर्घकालीन समाधान नभए पूरै वस्ती विस्थापित हुने खतरा रहेको उनीहरूको चेतावनी छ। स्थानीयका अनुसार पोखरा-१७ र २१ लाई जोड्ने दोविल्लास्थित फुस्रे खोलामाथिको पक्की पुलसमेत कटानको जोखिममा परेको छ। साथै, दोविल्ला क्षेत्र सेतीनदी र फुस्रे खोलाको संगमस्थल भएकाले दुबै नदीको कटानबाट सहारा समूहद्वारा सञ्चालित सहारा एकेडेमीसहितका संघसंस्था र घना बस्ती उच्च जोखिममा परेका छन्।
स्थानीयको भेलामा उम्मेदवार रश्मी आचार्यले नदी तथा खोलाको कटानका कारण उच्च जोखिममा रहेको दोविल्ला क्षेत्रको संरक्षण तथा आवश्यक पूर्वाधार निर्माणमा आफू प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे। जनभावनाको कदर गर्दै विकास निर्माणलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो। स्थानीय नवयुवा राज गिरीका अनुसार दोविल्लावासीले विभिन्न राजनीतिक दलका उम्मेदवारसँग समेत कटान नियन्त्रणका लागि अग्रसरता लिन आग्रह गर्दै आएका छन्। उनले सेतीनदी र फुस्रे खोलाको दीर्घकालीन व्यवस्थापन नगरे दोविल्ला क्षेत्रको अस्तित्व नै संकटमा पर्ने अवस्था रहेको बताए।
