राधाकृष्ण बृद्धाश्रममा सुविधासम्पन्न भान्छाघर निर्माण, नेपाल लाइफ इन्स्योरेन्सको ४ लाख बढी सहयोग

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं.३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा चार लाख रुपैयाँभन्दा बढी लागतमा सुविधासम्पन्न भान्छाघर निर्माण सम्पन्न भएको छ।

निर्मित भान्छाघरको आज आयोजित एक कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक कृष्णराज लामिछानेले शिलाअनावरण गर्दै औपचारिक रूपमा बृद्धाश्रमलाई हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै सञ्चालक लामिछानेले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिकहरूको सेवा–सुविधा अभिवृद्धि गर्ने उद्देश्यले बृद्धाश्रममा सुविधासम्पन्न भान्छाघर निर्माणका लागि सहयोग गरिएको बताए।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेले सहयोगप्रति आभार व्यक्त गरे। उनले विभिन्न सहयोगदाताको सहकार्यबाट बृद्धाश्रमका भौतिक पूर्वाधार निर्माण तथा सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै यस्ता सामाजिक सहयोगको निरन्तरता आवश्यक रहेको बताए।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रम पोखरा शाखा प्रमुख उपेन्द्रराज तिमिल्सिनाले सञ्चालन गरेका थिए। कार्यक्रममा कम्पनी तथा बृद्धाश्रम सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: