अर्थमन्त्री खनालद्वारा स्थलगत अनुगमन: कास्की-पर्वत र म्याग्दीमा निर्वाचन तयारी सन्तोषजनक

Share:

काठमाडौं । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अनुगमनका क्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत भ्रमण गरेका छन्। अनुगमनका क्रममा उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्।

बुधबार कास्की जिल्लामा गरिएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी दिइन्। उनका अनुसार जिल्लाका ५६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ।

अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत स्थलगत निरीक्षण गर्दै निर्वाचन तयारीबारे जानकारी लिएका थिए। सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ का निर्वाचन अधिकृत हिमलाल वेल्वासे, क्षेत्र नं. २ की निर्वाचन अधिकृत निर्मला खड्का, क्षेत्र नं. १ की निर्वाचन अधिकृत सीता रेग्मी तथा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले हालसम्मको तयारी र अवस्थाबारे अर्थमन्त्रीलाई विस्तृत रूपमा जानकारी गराएका थिए।

अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै स्थानीय स्तरमा राजनीतिक दलहरूले आपसी विवाद समाधानका लागि बनाएका ‘ह्वाट्सएप ग्रुप’ जस्ता पहलको प्रशंसा गरे।

यसैगरी पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र जिल्लाका ३५ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकृत गरिएको जानकारी दिए।

म्याग्दी जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले पनि निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा पालना भइरहेको र जिल्लाका १५ वटा मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको जानकारी गराए।

तीनवटै जिल्लाको अनुगमन पश्चात् अर्थमन्त्री खनालले निर्वाचन तयारीका कामहरू सन्तोषजनक ढंगले अगाडि बढेको र स्थानीय तहमा राजनीतिक दलहरूबीच स्वच्छ, शान्तिपूर्ण र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको अनुभूति व्यक्त गरे।

उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: