
पोखरा। जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हतियार लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नं. २ भिमसेन टोलमा हतियार लुकाईछिपाई राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले अनुसन्धान तथा खोजतलास गरेको थियो।
सो क्रममा गत माघ १९ गते दिउँसो करिब ३:५५ बजे दुई जना युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्दै आएका १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोट बस्दै आएका १८ वर्षीय राजकुमार रहेका छन्।
प्रहरीको सोधपुछ तथा अनुसन्धानका क्रममा उनीहरूले मिति २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा दुबै जना मिलेर प्रहरी कार्यालयबाट हतियार लुटपाट गरेको स्वीकार गरेका छन्। उनीहरूले उक्त हतियार पोखरा महानगरपालिका वडा नं. २ भिमसेन टोलस्थित इन्द्रबहादुर भारीको घरको टहरोमा रहेको दाउराको खलियोमा लुकाएर राखेको खुल्न आएको प्रहरीले जनाएको छ।
सूचना अनुसार उक्त स्थानमा खोजतलास गर्दा दाउराको बीचमा लुकाएर राखिएको अवस्थामा RIFLE 5.56 mm M3226 लेखिएको इन्सास राइफल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
बरामद हतियारसहित दुबै जनालाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार खरखजाना सम्बन्धी कसुरमा ६ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
