युनाईटेड क्लब पोखराद्वारा अमरसिंह माविलाई डिजिटल स्मार्टबोर्ड प्रदान

Share:

पोखरा। युनाईटेड क्लब पोखराले अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ। पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन तथा सेती नदी संरक्षणमा निरन्तर योगदान दिँदै आएको युनाईटेड क्लब पोखराले कक्षा ११ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ प्रक्रिया प्रविधिमैत्री बनाउने उद्देश्यका साथ उक्त स्मार्टबोर्ड हस्तान्तरण गरेको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लब स्थापना कालदेखि नै अमरसिंह माविसँग सहकार्य गर्दै पोखरा महोत्सवको आयोजना गरी विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताए। १४औँ पोखरा महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न गरेको एक सातामै विद्यालयका विद्यार्थीको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै डिजिटल स्मार्टबोर्ड हस्तान्तरण गर्न पाउँदा खुशी लागेको उनको भनाइ थियो।

श्रेष्ठले युनाईटेड क्लबको पहलमा पोखरामा खुला चिडियाखाना निर्माणको काम सुरु भइसकेको र हाल त्यसको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारले लिएर काम अगाडि बढाइरहेको जानकारी दिए। साथै उनले लेखनाथको अर्चलेमा आफ्नै जग्गामा करिब ४० लाख रुपैयाँको लागतमा निर्माणाधीन युनाईटेड छात्रावास छिट्टै सञ्चालनमा ल्याइने बताए। यस कार्यका लागि कुनै दातृ निकायको सहयोग नलिइएको पनि उनले स्पष्ट पारे।

सो अवसरमा अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले युनाईटेड क्लब पोखरा र अमरसिंह माविबीच नङ र मासु जस्तै गहिरो सम्बन्ध रहेको बताए। पोखरा महोत्सवमार्फत विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै विद्यार्थीको आवश्यकता अनुसार स्मार्टबोर्ड उपलब्ध गराइएकोप्रति आभार प्रकट गरे।

युनाईटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले अमरसिंह माविको सहकार्यकै कारण पोखरा महोत्सव १४औँ संस्करणसम्म आइपुगेको उल्लेख गर्दै विगतका सबै महोत्सवहरू सभ्य र भव्य रूपमा सम्पन्न भएको बताए। आगामी संस्करणहरू पनि अझ प्रभावकारी ढंगले सञ्चालन गरिने उनको भनाइ थियो।

क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सवबाट प्राप्त आम्दानीमार्फत दर्जनभन्दा बढी विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको र अमरसिंह माविका विद्यार्थीलाई निरन्तर आर्थिक सहयोग गर्दै आएको जानकारी दिए। यसपटक भने पठनपाठनलाई थप सहज बनाउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरिएको उनले बताए।

क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष सूर्यबहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्यहरू विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, विजय कार्की, बुद्ध कार्की तथा सल्लाहकार रमेशबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: