
म्याग्दी । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका उम्मेदवारहरू गाउँ-बस्ती र घरदैलोमा व्यस्त देखिएका छन्। उनीहरू मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको साना-साना समस्या सुन्ने, जिज्ञासा बुझ्ने र आफ्ना विकास योजना प्रस्तुत गर्ने क्रम जारी राखेका छन्।
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र समानुपातिक उम्मेदवार नरदेवी पुनको टोली मंगला गाउँपालिकाका विभिन्न वस्ती पुगेको छ। उनीहरूले मतदाताको आगनमा गएर जनताको दुःख-सुख सुन्ने र ‘समृद्ध म्याग्दी’ निर्माण गर्ने आफ्नो योजना प्रस्तुत गरेका छन्।
उता नेपाली काँग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (के.बी) बेनी नगरपालिकाभित्रै केन्द्रित छन्। भण्डारीले अर्जम, ज्यामरुककोट, भकुण्डे र गौस्वाराका मतदातासँग भेटघाट गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुन थापाले आफ्नै गृहवस्ती क्षेत्रका मुना र शिवाङका घरदैलोमा गएर मतदातासँग भेट गरेका छन्। स्वतन्त्र उम्मेदवार महावीर पुनले आज रघुगंगा गाउँपालिकाका चिमखोला, कुइनेखानी र घ्याँसीखर्क पुगेर मतदाता भेटघाट गरेका छन् र बेनीको पात्लेखेतमा फर्केर आफ्नो एजेण्डा प्रस्तुत गरेका छन्।
जिल्लाका सबै उम्मेदवारले स्थानीय विकास र समस्या समाधान गर्ने आश्वासनसहित मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। मतदाताहरू यसपटक कसलाई विश्वास गर्ने भन्नेबारे गहिरो चासो राखेका छन् र उम्मेदवारहरूको वचन र योजना मूल्यांकन गरिरहेका छन्।
