
काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको राजनीतिमा यसपटक एउटा फरक र प्रभावशाली मोड आएको छ। लामो समयदेखि विकासको पर्खाइमा रहेका बैतडीबासीका अगाडि यसपटक यस्तो व्यक्तित्व चुनावी मैदानमा छन्, जसले नेपाललाई विश्व खेलकुदमा सफलता दिलाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष चतुर बहादुर चन्द यसपटक नेपाली कांग्रेसका तर्फबाट बैतडीको ‘भाग्य र भविष्य’ बदल्ने सङ्कल्पसहित चुनावी मैदानमा उत्रिएका छन्।
बैतडीका कांग्रेस समर्थकहरूका लागि यो निर्वाचन भावनात्मक रूपले पनि विशेष छ। लामो समयपछि आफ्नै निर्वाचन चिह्न ‘रुख’मा मतदान गर्न पाउने अवसरलाई चन्दले एउटा ऐतिहासिक उत्सवको रूपमा व्याख्या गरेका छन्।
“म पार्टीमा पुरानो भए पनि चुनावी मैदानमा नयाँ हुँ। बैतडीले पटक-पटक मन्त्री पायो, तर न्याय र वास्तविक विकास पाएन,” चन्द भन्छन्, “अबको लडाइँ बैतडीको स्वाभिमान र समृद्धिका लागि हो।”
चतुर बहादुर चन्दको परिचय राजनीतिक मात्र छैन, उनी अमर सहिद दशरथचन्दका नाति र वास्तविक उत्तराधिकारी हुन्। सहिदको जन्मघरको संरक्षणदेखि उनको आदर्शलाई जीवन्त राख्नेसम्मको जिम्मेवारी उनले निभाउँदै आएका छन्। सहिदको रगत बगेको यो माटोमा अब विकासको सुगन्ध छर्ने उनको अन्तिम अठोट छ।
चन्दको सबैभन्दा ठूलो पुँजी उनको ‘डेलिभरी’ गर्ने क्षमता हो। उनी भन्छन्, “तपाईं गुगल गरेर हेर्नुस्, चतुर बहादुर चन्दले के गर्यो ? म क्रिकेट संघमा हुँदा नेपालले दुई पटक विश्वकप खेल्यो। शिक्षक संघमा हुँदा ५४३ विद्यालयको सुधारमा काम गरेँ।” उनी आफूलाई ‘डमी’ होइन, केन्द्रसँग विकास खोसेर ल्याउन सक्ने ‘पावरफुल’ प्रतिनिधिको रूपमा प्रस्तुत गर्छन्।
झुलाघाट पुल र पलायन रोक्ने मार्गचित्र
बैतडीको विकासको ‘लाइफलाइन’ मानिने महाकाली नदीमाथिको झुलाघाट पक्की पुल चन्दको मुख्य एजेन्डा हो। २०/३० वर्षदेखिको यो प्रतीक्षालाई अन्त्य गर्दै ‘कनेक्टिभिटी’ मार्फत जिल्लाको आर्थिक पलायन रोक्ने उनको योजना छ। बाँझिदै गएका खेतबारीमा सिँचाइ पुर्याउने र धार्मिक पर्यटनलाई राष्ट्रिय मूलधारमा जोड्ने उनको स्पष्ट रोडम्याप छ।
चन्दको राजनीतिक दर्शन ‘सामाजिक न्याय’मा टिकेको छ। कार्यकर्ता पोस्न बनाइने सामुदायिक भवनभन्दा बालबालिका पढ्ने विद्यालयको भवन उनको प्राथमिकतामा छ। “नेताले चाहेको विकास होइन, जनताले खोजेको विकास मेरो प्राथमिकता हो,” उनी दृढताका साथ भन्छन्। क्रिकेटको मैदानमा नेपालको झण्डा उँचो बनाएका चन्द अब बैतडीको विकासको पिचमा ‘चौका-छक्का’ हान्न तयार देखिन्छन्।
उनको प्रमुख एजेन्डा भनेको झुलाघाटमा पक्की पुल निर्माण गरेर सुदूरपश्चिमसँग कनेक्टिभिटी सुनिश्चित गर्नु हो। चन्दले भने, “महाकाली नदीमा पुल २०/३० वर्ष पहिले बनिनु पर्ने थियो। अब हामीले पलायन रोक्ने र बाँझो जमिन उपयोग गर्ने व्यवस्था गर्नुपर्छ।”
शिक्षा, खेलकुद र कृषि क्षेत्रमा पनि उनले ठोस योजना प्रस्तुत गरेका छन्। बैतडीलाई शैक्षिक र खेलकुदको केन्द्र बनाउने, कृषिलाई प्रवद्र्धन गर्दै स्थानीय युवा र किसानलाई सीधा लाभ पुर्याउने योजना उनको एजेन्डामा छ।
सामाजिक न्यायमा आधारित बजेट वितरण र जनताको आवश्यकता अनुसारको विकासलाई चन्दले आफ्नो प्राथमिकता बनाएका छन्। उनले विश्वास दिलाए, “म दिन काट्न वा पदावधि पूरा गर्न राजनीतिमा आएको होइन, परिणाम दिन आएको हुँ। जहाँ हात हाले, त्यहाँ सफलता सुनिश्चित गर्ने अनुभव मसँग छ।”
क्रिकेट संघको नेतृत्वमा नेपालले दुई पटक विश्वकप खेल्ने अवसर पाएको, शिक्षक संघमा ५४३ विद्यालयको शैक्षिक सुधार गरेको चन्दले उल्लेख गर्दै आफ्नो ट्रयाक रेकर्ड देखाएका छन्।
उनले आफ्नो राजनीतिक प्रतिबद्धता र सहिद दशरथ चन्दको विरासतको उत्तराधिकार सम्हाल्ने जिम्मेवारीबारे स्पष्ट पारे। उनले भने, “सहिदको रगत बगेको माटोमा अब विकासको सुगन्ध छर्ने मेरो अन्तिम अठोट हो।”
उनले झुलाघाटमा पक्की बनाउने बैतडीलाई सुदूरपश्चिमको शैक्षिक र खेलकुद हब बनाउने, बाँझो जमिन उपयोग गरी पलायन रोक्ने तथा आवश्यकता अनुसार बजेट वितरण गर्ने लगायतका एजेण्डा उनले अघि सारेका छन् ।
