नमस्ते ब्याण्डको ३७ औँ वार्षिकोत्सवमा १९ औँ महाशिवरात्री विश्वसंगीत महोत्सव, यस्तो छ तालिका

Share:

पोखरा । नमस्ते ब्याण्डले आफ्नो ३७ औँ वार्षिकोत्सव तथा नेपाल-जापान मैत्री सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा १९ औँ महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ।

विगत ३६ वर्षदेखि नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय सांगीतिक क्षेत्रमा पनि अमिट छाप छोड्दै आएको नमस्ते ब्याण्डले महाशिवरात्री पर्वको अवसर पारेर तीन चरणमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक तथा ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङले जानकारी दिए।

उनका अनुसार फागुन १ गते काठमाडौँमा, फागुन ३ गते आइतबार पोखराको लेकसाइडमा र मार्च महिनामा जापानको टोकियोमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ। महाशिवरात्रीको अवसरमा आयोजना हुँदै आएको यो विश्वसंगीत महोत्सवको १९ औँ संस्करण हो।

फागुन ३ गते साँझ ६ बजेदेखि पोखराको लेकसाइडमा हुने महोत्सवमा आतिशबाजी, शिवधुनीसँगै नमस्ते ब्याण्डको प्रस्तुति रहनेछ। साथै राजु लामा एण्ड मंगोलियन हर्ट, राजेश पायल राई, दीप श्रेष्ठलगायतका चर्चित कलाकारहरूको सशक्त प्रस्तुति रहने आयोजकले जनाएको छ। नेपालसँगै अन्तर्राष्ट्रिय कलाकारको सहभागिताले दर्शकलाई भरपूर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

महाशिवरात्री पर्वलाई सांगीतिक उत्सवका रूपमा मनाउँदै आएको नमस्ते ब्याण्डले नेपाल र जापानका विभिन्न सहरमा निरन्तर विश्वसंगीत महोत्सव गर्दै आएको छ। गुरुङका अनुसार यस वर्ष पनि महोत्सवमा दर्शकको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

५० को दशकमा पोखरामा पप ब्याण्डहरूको सक्रियता र चर्चाले नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै उनले यस्ता कार्यक्रमले पोखराको सांगीतिक पहिचानलाई पुनः जीवन्त बनाउने विश्वास व्यक्त गरे।

महोत्सव अवलोकनका लागि एक सय र दुई सय रुपैयाँका टिकटको व्यवस्था गरिएको छ। महोत्सवले पोखराको सांस्कृतिक उचाइलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पोखरामै जन्मिएको ब्याण्ड भएकाले महोत्सवलाई सफल बनाउन पोखरेली दर्शकको साथ रहनेमा आयोजक आशावादी छन्।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। पत्रकार सम्मेलनको सञ्चालन संघका सचिव सुरेश सुनारले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: