
पोखरा । पोखराको प्रस्र्याङस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष कार्यक्रम आयोजना हुने भएको छ। शिवरात्री पर्वको अवसरमा फागुन ३ गते पोखरा-५ प्रस्र्याङस्थित चिल्ड्रेन पार्कभित्र रहेको सन्तानेश्वर महादेव मन्दिरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रस्र्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा तथा शिवालय भजन समूहको समन्वयमा सामूहिक व्रतवन्धन, पूजापाठ तथा भजन साँझ आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिए।
उनका अनुसार ऐतिहासिक महत्त्व बोकेको सन्तानेश्वर महादेव मन्दिरमा हरेक वर्ष महाशिवरात्रीका अवसरमा स्वतःस्फूर्त रूपमा कार्यक्रम हुँदै आएको भए पनि यसपटक भने व्यवस्थित र बृहत् रूपमा विशेष कार्यक्रम आयोजना गरिएको हो। पछिल्लो समय पर्यटनसँग समेत जोडिएको प्रस्र्याङ बगैंचा पार्कभित्र रहेको मन्दिर परिसरलाई धार्मिक-सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ।
‘प्रस्र्याङको सन्तानेश्वर महादेव मन्दिरको आफ्नै गरिमा र धार्मिक महत्व छ। विगतमा स्वतःस्फूर्त रूपमा कार्यक्रम हुँदै आए पनि यसपटक सम्पूर्ण समुदायलाई समेटेर विशेष कार्यक्रम गर्न लागेका हौँ,’ संयोजक पराजुलीले भने, ‘यसका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूको सहकार्य प्राप्त भएको छ।’
यसैक्रममा प्रस्र्याङमा आयोजना हुने महाशिवरात्री विशेष कार्यक्रमलाई फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले सहयोग गर्ने भएको छ। सेन्टरका तर्फबाट डा. अनिश शेरचन र व्यवस्थापन समितिका तर्फबाट कार्यक्रम संयोजक सन्तोष पराजुलीले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
महाशिवरात्री विशेष कार्यक्रममा १०८ शिवलिङ्गमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चण्डीपाठ, निःशुल्क रक्त परीक्षण, विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकीहरू प्रमुख आकर्षणका रूपमा रहनेछन्। साथै, विभिन्न स्टलहरू राखिने, सामूहिक लाखबत्ती तथा ठाडा बत्ती बाल्ने, धुनी पूजा र बृहत् भजन साँझसमेत आयोजना गरिने आयोजकले जनाएको छ। आयोजकले महाशिवरात्रीको अवसरमा श्रद्धालु तथा भक्तजनलाई कार्यक्रममा सहभागी भई धार्मिक तथा सांस्कृतिक उत्सवको अनुभव लिन आग्रह गरेको छ।
