पोखरामा नवौँ विरेन स्मृति तथा १९ औँ बिटी कप सेभेन ए साइड फुटबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी

Share:

पोखरा । पोखरा महानगरपालिका-१ टुंडिखेलस्थित खेलमैदानमा बिहीबारदेखि ‘नवौँ विरेन स्मृति तथा १९ औँ बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ। बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एसपी कार्कीले पोखराको फुटबल विकासमा बिटी क्लबको योगदान अतुलनीय रहेको उल्लेख गरे। उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो। यस्तै दोस्रो खेलमा भाइब्रेन्ट एफसीले पाटन एफसीलाई २-० गोल अन्तरले हराएको छ। भाइब्रेन्टको जितमा अजय गुरुङ र एलिया गुरुङले एक/एक गोलको योगदान दिए।

क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार प्रतियोगिताको पहिलो चरणका बाँकी खेलहरू शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुनेछन्। प्रतियोगितामा कुल ४६ टिम सहभागी छन्। प्रतियोगिताको विजेता टिमले २ लाख २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

विधागत पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट खेलाडीलाई स्पोर्ट्स साइकल प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही ८/८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यसैगरी प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: