
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार उपचारका लागि डडेलधुरा अस्पताल पठाइएका थप ५ जनाको निधन भएपछि मृतकको संख्या १३ पुगेको हो।
गम्भिर घाइते ३ जनालाई धनगढी रेफर गरिएको छ। अन्य २७ जना घाइतेको उपचार भइरहेको छ। बिहीबार बेलुका पुर्चौडी नगरपालिका-७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका-७ का ४० वर्षीय पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, बित्थडचिर गाउँपालिका-७ का ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। डडेलधुरा अस्पतालमा उपचारको क्रममा राति थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। डडेलधुरा अस्पतालमा मृत्यु हुनेको नाम भने खुल्न बाँकी छ।
बस सडकबाट २ सय मटिर तल खसेको छ। दुर्घटनापछि बस चालक बिरेन्द्र बुढालाई प्रहरी नियन्त्रणमा लिएको छ।
