‘चर्का भाषण होइन, नीतिगत समाधान चाहिन्छ’- कास्की-३ रास्वपाकी उम्मेदवार बिना गुरुङ

Share:

पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना गुरुङले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या सुन्ने र नीतिगत समाधानबारे छलफल गर्ने अभियानलाई तीव्र बनाएकी छन्। पोखराका मतदातासँग भेटघाट गरेकी गुरुङले हेमजाका याम्दी, जैसीचौर, मीलनचोक र झिझिर्कालगायतका स्थानमा पुगेर स्थानीयका कुरा सुनेकी हुन्। भेटघाटका क्रममा उनले राष्ट्रिय नीति निर्माणदेखि स्थानीयस्तरका ज्वलन्त मुद्दासम्म केन्द्रित रहेर छलफल गरिन्।

आलु र तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजावासीले विगतका उम्मेदवारहरूले कृषिको आधुनिकीकरण र बजारीकरणका नाममा मत मागे पनि व्यवहारमा कुनै ठोस काम नगरेको गुनासो गरे। किसानका उपजमा अझै पनि विचौलियाको दबदबा कायमै रहेको, उचित मूल्य नपाइने समस्या र कृषियोग्य भूमिमा बढ्दो सहरीकरणको चपेटाबारे उनीहरूले चिन्ता व्यक्त गरे।

स्थानीयका सुझाव सुनेपछि उम्मेदवार गुरुङले आफू चर्का भाषण र सस्तो आश्वासनमा विश्वास नगर्ने स्पष्ट पारिन्। हेमजाजस्ता क्षेत्रमा करिब वार्षिक २५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने तथ्य उल्लेख गर्दै उनले कृषि र सहरीकरणबीच सन्तुलन कायम गर्न नीतिगत हस्तक्षेप अनिवार्य रहेको बताइन्।

‘हेमजाले सिंगो पोखरालाई तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदान दिएको छ,’ उनले भनिन्, ‘तर यही क्षेत्र अव्यवस्थित सहरीकरणको जोखिममा छ। अब राज्यले कृषि संरक्षण र सहरी विकासलाई नीतिगत रूपमा मिलाएर लैजानुपर्छ। म संसद्मा पुगेपछि यिनै विषयमा काम गर्नेछु।’

उनले कृषिको आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि विचौलियाको अन्त्य गर्ने स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि संसद्मा आवाज उठाउने प्रतिबद्धता जनाइन्।

कास्की–३ का विभिन्न स्थानमा पुग्दा सम्भावना भएर पनि राजनीतिक स्वार्थका कारण विकास हुन नसकेको गुनासो धेरैले गरेको गुरुङले सुनाइन्। आफू कुनै व्यक्तिगत स्वार्थले राजनीतिमा नआएको बताउँदै उनले सुशासन र नागरिकको पक्षमा काम गर्ने अठोट दोहोर्याइन्।

‘म राजनीतिमा पैसा कमाउन आएकी होइन,’ गुरुङले भनिन्,‘समाजसेवा, महिला सशक्तीकरणमा लामो समय काम गरेँ। अब प्रत्यक्ष रूपमा जनताको पक्षमा नीतिगत तहबाट काम गर्न उम्मेदवार बनेकी हुँ।’

महिला सशक्तीकरण, संस्कृति संरक्षण र सामाजिक न्यायका क्षेत्रमा निरन्तर सक्रिय सञ्जीवनी सिस्टर्स एसोसिएसनकी संस्थापक अध्यक्षसमेत रहेकी गुरुङले स्थानीय आवश्यकतामा आधारित‘माटो सुहाउँदो नीति र विकास’ मा जोड दिने बताइन्।मतदातासँग प्रत्यक्ष संवाद र नीति केन्द्रित बहसलाई प्राथमिकतामा राख्दै अघि बढेकी बिना गुरुङको यो अभियानले कास्की-३ मा चुनावी बहसलाई नयाँ ढंगले अघि बढाइरहेको देखिन्छ।

कमेन्ट गर्नुहोस्
Share: