बैतडीमा जन्ती बस दुर्घटना: १३ जना मृतकको सनाखत, बेहुलाबेहुली सकुशल (मृतकको नामावली)

Share:

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने १३ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार उपचारका लागि डडेलधुरा अस्पताल पठाइएका थप ५ जनाको निधन भएपछि मृतकको संख्या १३ पुगेको छ।

गम्भिर घाइते ३ जनालाई धनगढी रेफर गरिएको छ। अन्य २७ जना घाइतेको डडेलधुरामै उपचार भइरहेको छ। दुर्घटनामा बेहुला बेहुली भने सकुशल रहेका प्रहरीले जनाएको छ।

बिहीबार बेलुका पुर्चौडी नगरपालिका-७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र ७ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका-७ का ४० वर्षीय पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बित्थडचिर गाउँपालिका-७ का ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। डडेलधुरा अस्पतालमा उपचारको क्रममा राति थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

डडेलधुरा अस्पतालमा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका-७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, २७ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-७ का १५ वर्षीय सुशिल जोशी छन्। बस सडकबाट २ सय मटिर तल खसेको छ। दुर्घटनापछि बस चालक बिरेन्द्र बुढालाई प्रहरी नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
Share: