एनपिजेए कास्कीको फोटो पत्रकार अक्षयकोषमा नागरिक अभियन्ता रामबहादुर पौडेलको सहयोग

Share:

पोखरा। नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा नागरिक अभियन्ता रामबहादुर पौडेलले आर्थिक सहयोग गरेका छन् । नागरिक अधिकार, सुशासन र पारदर्शिताका पक्षमा निरन्तर आवाज उठाउँदै आएका अभियन्ता पौडेलले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

पोखरा महेन्द्रपुलस्थित फल्चामा शुक्रबार आयोजित फोटो प्रदर्शनीको अवसरमा उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे । सहयोग हस्तान्तरणपछि अभियन्ता पौडेलले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि यो कोष भविष्यमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास व्यक्त गरे ।

सहयोग ग्रहण गर्दै एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अभियन्ता पौडेलप्रति धन्यवाद ज्ञापन गरे । विभिन्न दाताबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य प्राप्तिमा मद्दत पुग्ने उल्लेख गर्दै उनले कोषको रकम फोटो पत्रकारहरूको वृत्तिविकास र हितमा खर्च गरिने जानकारी दिए ।

अक्षयकोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा संघ-संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको एनपिजेए कास्कीले जनाएको छ । यसअघि सामाजिक अभियन्ता सरिता गुरुङले १५ हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार तथा सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

यसैबीच, एनपिजेए कास्कीको आयोजना तथा सहारा क्लब पोखराको सहकार्यमा शुक्रबार आयोजित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । प्रदर्शनीमा सहारा क्लबको आयोजनामा हुने आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षण समेटिएका एक सय फोटो प्रदर्शन गरिएको थियो ।

२०५८ सालमा क्याराभान गोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्ष पूरा गरी यो वर्ष पनि निरन्तरता पाएको छ । यस वर्षको आहारारा पोखरा गोल्ड कप माघ २७ गतेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।

प्रदर्शनीमा राखिएका फोटोहरू प्रतियोगिता अवधिभर माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए । प्रतियोगिता अवलोकन गर्न आउने दर्शकहरूले रंगशाला परिसरमै ती फोटोहरू अवलोकन गर्न सक्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: