कांग्रेस कास्की-३ को चुनावी अभियान तीव्र, हेमजामा दुई सम्पर्क कार्यालय स्थापना

Share:

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं.३ ले सम्पर्क कार्यालय स्थापना, घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै चुनावी अभियानलाई व्यापक बनाएको छ । यसैक्रममा शुक्रबार कास्की क्षेत्र नं. ३ अन्तर्गत पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको मिलन चोक र सुइखेतमा चुनाव प्रचार-प्रसारका लागि दुई सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सम्पर्क कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङ र समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङले क्षेत्रको बृहत्तर विकास र जनताका आवाज संसदमा पुर्‍याउन रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

‘कांग्रेस अब अलमलिने बेला छैन,’ उनले भने, ‘हिजो गरेका काम र अब गर्ने योजनासहित जनतामाझ जानु आवश्यक छ । हरेक सुख–दुःखमा कांग्रेस सँगै छ भन्ने अनुभूति जनतालाई दिनुपर्छ ।’ हेमजाको विकास निर्माणका लागि बजेट सुनिश्चित गर्न आफूले पहल गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि स्थानीय आवश्यकताअनुसार विकास निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले पार्टी परिवर्तनसँगै देश परिवर्तनको अठोट लिएर कांग्रेस निर्वाचनमा होमिएको बताए । ‘विगतका कमीकमजोरी समीक्षा गर्दै कांग्रेस अब देश बदल्ने दृढ संकल्पका साथ अघि बढेको छ,’ उनले भने, ‘सुशासन कायम गर्न र कांग्रेसले लिएको लक्ष्य पूरा गर्न रुख चिन्हमा मतदान गर्नुहोस् ।’

निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले नयाँ सोच र नयाँ चिन्तनका साथ कांग्रेस अघि बढेको उल्लेख गर्दै देश परिवर्तनको जिम्मेवारी कांग्रेसले नै लिने बताए ।

नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य रामचन्द्र त्रिपाठीले परिवर्तनलाई आत्मसात् गर्ने पार्टी कांग्रेस भएको धारणा व्यक्त गरे । दलित परिचालन समितिका संयोजक मन बहादुर विकले सबैलाई तन-मनका साथ रुख चिन्हमा मतदान गर्न जनतालाई आग्रह गर्नुपर्ने बताए ।

निर्वाचन परिचालन समितिका सह-संयोजक खिमलाल बास्तोलाका अनुसार आन्तरिक घरदैलो, प्रचार-प्रसार तथा सम्पर्क कार्यालय स्थापना कार्यक्रमलाई अझ तीव्रता दिइएको छ । नेपाली कांग्रेस पोखरा-२५ हेमजा वडा समितिका सभापति मधुसूदन त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव सन्तमान श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: