जनताको समस्या र सुशासनका पक्षमा संसदमा जोडदार आवाज उठाउँछु : कांग्रेस कास्की-२ का उम्मेदवार माधव बास्तोला

Share:

पोखरा । नेपाली कांग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधवप्रसाद बास्तोलाले जनताको समस्या र सुशासनको पक्षमा संसदमा मजबुत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा महानगरपालिका-११ फलफुलबारीस्थित नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं २ को चुनावी प्रचार-प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले आफ्नै वडावासी माझ यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राजनीतिमा प्रवेश गरेदेखि नै सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा निरन्तर उभिँदै आएको उल्लेख गर्दै उम्मेदवार बास्तोलाले कास्की-२ का मतदाताले आफूलाई न्याय गर्नेमा पूर्ण विश्वास व्यक्त गरे ।

‘मेरो सम्पूर्ण जीवन इमानदार रूपमा राजनीति र समाजसेवामै बितेको छ,’ उनले भने, ‘यही विश्वासका आधारमा कांग्रेसले मलाई उम्मेदवार बनाएको हो ।’

पार्टीमा युवा सभापति आएपछि नेता तथा कार्यकर्तामा नयाँ उत्साह थपिएको उल्लेख गर्दै उनले जेन्जी आन्दोलनले उठाएका जायज मागहरू पनि देशको अभिभावकीय पार्टी नेपाली काँग्रेसले सम्बोधन गर्ने विश्वास दिलाए ।

मतदातासँग प्रत्यक्ष भेटघाटका क्रममा कास्की क्षेत्र नं. २ मा थुप्रै समस्या देखिएको उल्लेख गर्दै बास्तोलाले ती सबै समस्याको समाधानका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए ।

उनका अनुसार यहाँका मुख्य समस्या बेरोजगारी र महँगी नियन्त्रण, पर्यटन र कृषि प्रवर्द्धन, सुकुम्बासी समस्या, सुशासन, खानेपानी, ढलनिकास, फोहोर व्यवस्थापन, सडक, पुल र तटबन्ध निर्माण रहेका छन् ।

उक्त अवसरमा नेपाली कांग्रेसका नेता वीरेन्द्रनारायण विजुक्छे, केशर निर्दोषी लगायतले पनि शुभकामना तथा धारणा व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: